काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मन्त्री डा गौतमले मन्त्रालयको वेबसाइटमार्फत आफ्नो कार्यकालमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेकी हुन् । उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका गुणस्तरीय उपचार र राहत तथा वर्गीकरण गरेको उल्लेख गरिन् ।
यस्तै प्रगति विवरणमा वीरअस्पतालको आकस्मिक उपचार विभागको ५५ श्यया विस्तार गरिएको, ९३ आधारभूत अस्पतालको निर्माण कार्यसम्पन्न भई ६२ आधारभूत अस्पतालबाट प्रारम्भिक सेवा सञ्चालन भएको मन्त्री डा गौतमले उल्लेख गरिन् ।
यस्तै स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना २०८२/८३ बमोजिम ६ कार्यक्षेत्र र २२ क्रियाकलापको प्रभावकारी कार्यन्वयन, गत मङ्सिर २४ देखि फागुन ३० सम्म ‘स्वस्थ मन, स्वस्थ जीवन’ नाराका साथ मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालनजस्ता कुरा आफ्नो प्रगति विवरणमा उल्लेख गरेकी छन् ।
यस्तै सिंहदरबार वैद्यखानाबाट ३५ थरिका औषधि उत्पादन हुने गरेकामा आफू आएपछि १०२ प्रकारका औषधि उत्पादन सुरु गरिएको कुरा पनि मन्त्री डा गौतमले आफ्नो प्रगति विवरणमा उल्लेख गरेकी छन् । समुदायमा आधारित रोग निगरानी प्रणालीको सुरुआत भई ५४ जिल्लामा विस्तार भइरहेको, १२१ अस्पतालमा र ५२ जिल्लामा मातृ तथा नवजात स्वास्थ्य शिशु स्वास्थ्य सेवा विस्तार, सेवाको पहुँच कम भएका सुदूरपश्चिम र मधेश प्रदेशका स्थानीय तहमा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको उल्लेख छ ।
प्रगति विवरणमा देशभरका सबै सङ्घीय अस्पतालमा मनोसामाजिक परामर्श केन्द्र स्थापना सेवा सुरु, ७५३ स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रममा मनोसामाजिक स्वास्थ्य कार्यक्रम सञ्चालन उल्लेख छ ।
यस्तै औषधिको गुणस्तर परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालाको क्षमतालाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन आवश्यक पूर्वाधार विकासको प्रक्रिया अघि बढाइएको, आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न औजार उपकरणको सूची २०८२ स्वीकृत गरी स्वास्थ्य सेवा विभागमार्फत कार्यन्वयन गरिएको मन्त्री डा गौतमको प्रगति विवरणमा समावेश गरिएको छ ।
यस्तै मन्त्रालयमा आएका नागरिकका प्रत्यक्ष असर पार्ने ६६९ स्वास्थ्यसँग सम्बन्धित गुनासो सम्बोधन गरिएको, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट वैदेशिक रोजगारमा जाने नेपालीलाई लक्षित गरेर वैदेशिक रोजगार पूर्व प्रस्थान र फिर्तापश्चात्का चरणमा सेवा दिने गरी ट्रभाल मेडिसिन क्लिनिक सञ्चालन गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
मन्त्री डा गौतमले आफ्नो पाँच महिने कार्यकालमा स्वास्थ्य संस्थान नभएका १३० वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि रकम निकासा गरिएको र नर्सिङको न्यूनतम तलब रु २७ हजार ७८४ कायम गरिएको उल्लेख गरेकी छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा डा गौतमले स्वास्थ्यमन्त्रीको रुपमा करिब पाँच महिना काम गरिन् ।

प्रतिक्रिया