तनहुँमा दुई हजार ६२५ किशोरीलाई एचपिभी खोप लगाइने


दमौली । तनहुँ जिल्लामा दुई हजार ६२५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले यही माघ २९ गतेदेखि आगामी फागुन ५ गतेसम्म किशोरीलाई एचपिभी खोप लगाउन लागेको हो ।

हाल विद्यालय जाने कक्षा ६ का छात्रा, गत आर्थिक वर्षमा छुट भएका, हाल कक्षा ७ देखि १० मा अध्ययन गर्दै गरेका छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरी, गत आर्थिक वर्षमा छुट भएका विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीलाई उक्त खोप लगाउन लागिएको कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए ।

गतवर्ष जिल्लाका १४ हजार १३५ किशोरीलाई उक्त खोप लगाइएको थियो । हरेक विद्यालयमा केन्द्र सञ्चालन गरी किशोरीलाई एचपिभी खोप लगाइने कँडेलले बताए  । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अनुमान गरिएको छ ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने कँडेलले बताए ।