स्वास्थ्यकर्मीलाई गुनासो नआउने गरी काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले अस्पतालभित्रका समस्यालाई आन्तरिक रूपमै समाधान गर्न र नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न सुझाव तथा निर्देशन दिएकी छन् । 

कान्ति बाल अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले नयाँ आयोजनाहरू तत्काल अगाडि बढाउन नसकिने वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै अस्पताल सञ्चालनमा कुनै पनि समस्या उत्पन्न भएमा जुनसुकै समयमा मन्त्रालयमा आएर छलफल गर्न सकिने र थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्यामा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

मन्त्री गौतमले भनिन्, “कान्ति बाल अस्पताललाई अत्याधुनिक बाल स्वास्थ्य संस्थाको रूपमा विकास गर्ने विषयमा मन्त्रालय सधैँ सकारात्मक र अस्पताललाई एक हजार शय्याका रूपमा विस्तार गर्न आवश्यक पर्ने नीतिगत निर्णयहरूका लागि मन्त्रालयले सकारात्मक भूमिका खेल्नेछ ।”