काठमाडौँ । निजामती कर्मचारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ । अस्पतालले न्यूरोसर्जरी र न्युरोलोजिष्ट सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
टाउकोमा चोटपटक लागेका गम्भीर प्रकारका बिरामीका उपचार सेवा प्रदान गर्न न्युरोसर्जरी सेवा सुरु गरिएको उनले बताए । न्युरोसर्जरीमा टाउकोको चोट, ट्युमर, ढाडको समस्या, स्ट्रोक जस्ता रोगको उपचार गरिन्छ । न्यूरोसर्जरी १५ वर्षभन्दा माथिको लागि उपचार गरिन्छ ।
न्युरोलोजिष्ट सेवाबाट भने बच्चाको मस्तिष्क, मेरुदण्ड, र स्नायु प्रणालीसम्बन्धी रोगको उपचार गरिन्छ । न्यूरोलोजिष्टमा बच्चाको टाउको दुख्ने, छारेरोग, पक्षघात अल्जाइमर, स्नायु कमजोरीजस्ता विभिन्न स्नायुजन्य उपचारको गरिन्छ ।
यस्तै अस्पतालले यसै वर्षदेखि निजामती कर्मचारीका लागि स्वास्थ्य बिमा कार्यक्रम पनि सुरु गर्ने तयारी गरेको छ । स्वास्थ्य बिमा बोर्डसँग सम्झौता प्रक्रिया अगाडि बढाइएको अस्पतालका कार्यकारी निर्देशक डा रेग्मीले जानकारी दिए ।
उनले भने, “निजामती कर्मचारीको बिमा गरेबापतको रकम तीन महिनाभित्र भुक्तानी हुने अवस्था आयो भने हामी सर्वसाधारणलाई पनि बिमा कार्यक्रममार्फत उपचार गर्ने तयारीमा छौँ ।” अस्पतालमा हाल १० प्रतिशत निजामती कर्मचारी र ९० प्रतिशत सर्वसाधारण उपचारका लागि आउने गरेका छन् ।
अस्पतालले मुटुरोग उपचारका लागि ‘क्याथल्याब’ सेवा पनि विस्तार गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया