काठमाडौँ । ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले ‘मनको कुरा गरौँ’ नाराका साथ अभियानको बुधबार आयोजित कार्यक्रमको शुभारम्भ गरिन् ।
उनले युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताइन् । उनले सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध रहेको जानकारी दिइन् ।
उनले स्थानीय तहको सरकारसँगको समन्वयमा समुदायमा स्तरमा समुदायमा परामर्शदाता परिचालन गरेर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको बताइन् ।
मन्त्री डा गौतमले मानसिक समस्या भएका मानिससँग बोल्ने, मनका कुरा सुन्दिने गर्नुपर्ने भन्दै उनले त्यो नगर्दा भित्रभित्रै गुम्सिदै कडा रुप लिन सक्ने बताइन् । उनले मानसिक स्वास्थ्यको औषधि सबैतिर पाउने गरी विवरण गरिएको बताइन् । उनले मानसिक स्वास्थ्य समस्यालाई उजागरण गर्दै निराकरण गर्नका लागि मन्त्रालयका लागिपरेको बताइन् ।
उनले सङ्घअन्तर्गतका सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध रहेको जानकारी दिइन् । उनले मानसिक स्वास्थ्य नीति र रणनीतिको कार्यन्वयनको सुस्त रहेकाले यसलाई प्राथमिकता राखेर काम गर्ने बताइन् ।
उनले घरबाट टाढा विदेशमा रहेका श्रमिक र फर्केर आएका श्रमिकको मानसिक स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरुको मानसिक स्वास्थ्यमा काम गर्नुपर्ने बताइन् ।
मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले मानसिक स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरेको जानकारी दिए ।
उनले तीन महिनासम्म मानसिक स्वास्थ्यमा हामी सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले तीन महिनासम्म सञ्चालन हुने अभियानमा मानसिक रोगबारे जानकारी, पारिवारिक तथा सामुदायिक साहारा, भेटघाट, तनाव कम गर्ने मुख्य उद्देश्य रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा केशरवहादुर ढकालले नेपालमा मानसिक स्वास्थ्य गम्भीर तर पनि पर्याप्त मात्रामा महत्व नपाएको बताए । उनले १० जनामध्ये एक जना जीवनको कुनै न कुनै मोडमा मानसिक स्वास्थ्य समस्या झेल्नुपरेको उल्लेख गर्दैै मानसिक स्वाथ्य व्यक्तिगत नभई जनस्वास्थ्यको आधारभूत समस्या रहेको बताए ।
उनले विभागको नेतृत्वमा आधारभूत स्वास्थ्य सेवामा मानसिक सवास्थ्य सेवा प्रदान गर्नुको साथै आवश्यक ठाउँमा निःशुल्क औषधि वितरण गरिरहेको समेत बताए ।
जिल्ला र प्रदेश अस्पतालमा पनि बहिरङ्ग र अन्तरङ्ग सेवा विस्तार गर्न थालिएको समेत उनले जानकारी दिए । मन्त्रालयले आजदेखि फागुनसम्म मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न थालेको हो ।

प्रतिक्रिया