धेरै सन्तान जन्माउने आमाको आयु घट्छ ?


बच्चाहरूले कारणबिनै झगडा गर्न निहुँ खोजिरहेका बेला वा खाना खान नमानेका बेला वा सुत्न नमानिरहेका बेला आमाहरू सहजै भन्दिन्छन् – यी बच्चाहरूले मेरो आयु नै घटाइदिइसके होलान्। त्यो सत्य नै हुन सक्ने नयाँ अनुसन्धानहरूले सङ्केत गरेका छन्। प्रत्येक सन्तान जन्माउँदा केही आमाहरूको आयु ६ महिनासम्म कम भएको हुन सक्ने इतिहासका रेकर्डहरूको विश्लेषणले सुझाएको छ।

खासगरी असाध्यै कठिन परिस्थितिमा रहेका महिलाहरूमा त्यस्तो भएको हुन सक्छ। विकासक्रमसम्बन्धी अनुसन्धानकर्ताहरूले सन् १८६६ देखि १८६८ को बीचको एक सामुदायिक रेकर्डमा आधारित भएर एक अनुसन्धान गरेका थिए। अनुसन्धानकर्ताहरूले ‘ग्रेट फिनिस फेमिन’ अर्थात् फिनल्यान्डमा भएको चर्को भोकमरीको समयमा ४,६८४ महिलाहरू रहेको स्थानमा भएको जन्म र मृत्युको रेकर्डको अध्ययन गरेका थिए।

प्रमुख अनुसन्धानकर्ता तथा द नेदरल्यान्डस्‌स्थित युनिभर्सिटी अफ ग्रोनिङगेनका डाक्टर युअन योङले उक्त भोकमरी ‘पछिल्लो युरोपेली इतिहासको सबैभन्दा डरलाग्दोमध्ये एक’ भएको बताए। त्यस्तो भोकमरीका बेला बच्चा जन्माएका महिलाहरूको प्रत्येक सन्तान जन्माउँदा आयु ६ महिनाले घटेको डाक्टर योङ र उनको टोलीमा रहेका प्रोफेसर हाना डजडेल, प्रोफेसर विर्पि लुमा र डा. एरिक पोस्टमाले पाए।

आमाहरूले आफ्नो ऊर्जाको ठूलो मात्रा आफ्ना कोशिकाहरू मर्मत गर्नमा भन्दा नयाँ बच्चा जन्माउनमा प्रयोग गरेका कारण जीवनको जीवनको उत्तरार्द्धमा रोगको जोखिम बढ्ने स्थितिमा ती आमाहरूलाई पारिदिएको अध्ययनले सुझाएको छ। तर भोकमरीको अगाडि वा पछाडि आमा बन्नेहरूमा भने उनीहरूको आयु र बच्चा जन्माउनुबीच कुनै सम्बन्ध थिएन।

‘अनिकाल परेका बेला प्रजनन अवस्थामा रहेका महिलाहरूमा मात्र हामीले यो असर देख्यौँ,’ डाक्टर योङले भने। यसले महिलाहरू सन्तान जन्माउने समयमा रहेको वातावरणले उनीहरूको आयुमा प्रभाव पार्छ भन्ने सङ्केत गरेको छ।

बच्चा जन्माउँदा त्यसले आयुलाई कसरी असर गर्छ ?

एउटा सम्भावित व्याख्या: बच्चा जन्माउँदा हुने दीर्घकालीन स्वास्थ्य असरहरू कठोर वातावरणीय परिस्थितिले अझ खराब बनाउन सक्ने हुन सक्छ। लामो समयदेखि थाहा हुँदै आएको छ: बच्चा जन्माउने क्रममा तौल बढ्नु र शारीरिक तनाव बढ्नु जस्ता कारणले आमाहरूलाई मुटुसम्बन्धी र मेटाबोलिक रोगहरूको जोखिम बढी हुन्छ।

‘एउटा सम्भावित व्याख्या: यो अवधिमा बच्चाहरूलाई हुर्काउने, स्तनपान गराउने र गर्भधारण गर्ने कार्यले गर्दा आमाको शरीरमा विभिन्न कुरा कमी हुन जान्छ,’ डाक्टर योङ थप्छन्। गर्भधारण र स्तनपानका लागि धेरै ऊर्जा चाहिन्छ जसको अर्थ अनिकालका बेला नयाँ आमा बन्नेहरूमा भविष्यमा रोग नलागोस् भनेर जोगाउन गर्नु पर्ने शारीरिक क्रियाकलापहरूका लागि कम ऊर्जा उपलब्ध हुन्छ। ‘यस्ता जनसङ्ख्याभित्र धेरै बच्चा जन्माउने आमाहरूले सन्तानहरूको वर्षान्तर कम हुँदा आमाहरू पुन: बलियो हुन आवश्यक पर्ने समय पाएका हुँदैनन् त्यसले स्वास्थ्यमा पर्ने असरलाई जटिल बनाइदिन्छ,’ डाक्टर योङले व्याख्या गरे। तर, अध्ययनले प्रयोगशालामा उत्पादन गरिएका नयाँ तथ्याङ्क नभै ऐतिहासिक तथ्याङ्कमा आधारित भएकाले निष्कर्ष निश्चितरूपमा यही हो भन्न नसकिने उनले बताए।

सन्तान र आयु बीचको ‘सन्तुलन’

धेरै सन्तान भएका महिलाहरूमा यो नतिजा अझ प्रस्ट देखिएको डा. योङको अध्ययनले सङ्केत गरेको छ। तर सबै महिलाहरू त्यसबाट समान रूपमा प्रभावित नभएको पनि उनको अध्ययनले देखाएको छ। ‘यो खासमा ठूला परिवारको आकार… र यस प्रकारका अनिकालका घटनाहरू: दुईवटा अवधारणाहरू हुन्,’ उनले व्याख्या गरे।

दशकौँदेखि वैज्ञानिकहरू छोटो जीवन बाँच्ने र धेरै सन्तान जन्माउने प्रजातिहरू (जस्तै मुसा र कीराहरू) र लामो जीवन बाँच्ने तथा कम सन्तान जन्माउने प्रजातिहरू (जस्तै हात्ती, ह्वेल र मानिसहरू) बीचको भिन्नता देखेर आश्चर्यमा पर्दै आएका छन्। एउटा अग्रणी सिद्धान्त अनुसार – प्रजननका लागि कोशिका मर्मत गर्नु पर्ने हुन्छ र त्यसो गर्दा बुढ्यौली प्रक्रियामा बढोत्तरी हुन्छ।

आधुनिक महिला पनि त्यसै गरी प्रभावित छन् ?

तर के २०० वर्ष अगाडिका महिलाहरूमाथि गरिएको अध्ययन अहिले २१ औँ शताब्दीका महिलाहरूमा सान्दर्भिक हुन्छ ? ‘यसलाई त्यो ऐतिहासिक कालखण्डको सन्दर्भमा बुझ्नु पर्छ जति बेला आधुनिक स्वास्थ्य सेवा प्रणालीहरू त्यति बलिया थिएनन्,’ डाक्टर योङले भने। ‘त्यो अवधिमा महिलाका सरदर चार वा पाँच सन्तान हुन्थे जुन अहिलेको समयमा भन्दा धेरै ठूलो परिवारको आकार हो।’

सन् १८०० यता विश्वभरि नै परिवारमा हुने बच्चाको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको छ। सन् २०२३ मा महिलाका औसतमा दुईजनाभन्दा केही बढी सन्तान जन्माएका थिए – यो परिवर्तन शिक्षा, कार्यस्थल र गर्भनिरोधकहरूको बढ्दो पहुँचका साथै बाल मृत्युदर घट्नुका कारण भएको हो। यद्यपि निजेर, चाड, सोमालिया र साउथ सुडान जस्ता देशहरूमा महिलाले अहिले पनि कम्तीमा चारवटा बच्चा जन्माउँछन्। र, गत वर्ष संयुक्त राष्ट्र समर्थित खाद्य असुरक्षा पहल निकाय इन्टिग्रेटेड फूड सेक्युरिटी फेज क्लासिफिकेसनद्वारा सुडान र गाजा दुवै क्षेत्रमा अनिकाल घोषणा गरिएको छ। डाक्टर योङले थप काम आवश्यक छ भनिरहँदा यसले के सङ्केत गर्छ भने ती अध्ययनका निष्कर्षहरू हाल विश्वका केही भागहरूमा लागु भइरहेको हुन सक्छ।

-केट बई, बीबीसी विश्व सेवा