विभिन्न स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स सहयोग


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स नभएका ग्रामीण भेगका स्थानीय तहलाई एम्बुलेन्स वितरण सुरु गरेको छ । महानगरले मंगलबारदेखि विभिन्न पालिकालाई ३५ वटा एम्बुलेन्स वितण सुरु गरेको हो ।

आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको महानगर स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिए ।

यसअघि आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि यो व्यस्था गरिएको थियो । त्यसलाई निरन्तरता दिँदै चालु आवमा नगरसभाको निर्णयबाट ३५ थान ‘बी–क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो ।

बोलपत्र प्रक्रियामार्फत श्री अग्नि इन्करपोरेटेड प्रालिसँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक टोलीले परीक्षण गरी प्रतिवेदन प्राप्त भएकाले वितरण प्रक्रिया अघि बढाइएको स्वास्थ्य विभाग प्रमुख केसीको भनाइ छ ।

गत आव २०८१/८२ मा आठ करोड १० लाख विनियोजन भई एम्बुलेन्स सहयोग गरिएको र चालु आव २०८२/८३ को नीति तथा कार्यक्रममा यसलाई निरन्तरता दिदैँ  आठ करोड १० लाख विनियोजन गरिएको छ ।

महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको छ ।

एम्बुलेन्स पाएपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँले ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको बताए ।