सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी


काठमाडौं । नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गरी सहमति कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

गत असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा नेपाल चिकित्सक संघ र सरकारका तर्फबाट तीनजना मन्त्रीहरूबीच उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनका लागि ३ बुँदे सहमति भएको थियो ।

सहमति अनुसार, विद्यमान कानुनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी ३ सदस्यीय कार्यदल गठन भएको थियो । उक्त कार्यदलले तयार पारेको प्रतिवेदन मन्त्रीसहित सरोकारवालालाई पेस गर्ने सहमति भएको थियो ।

तर, निर्धारित समयसीमा सकिएको लामो समयपछि पनि कुनै ठोस प्रगति नदेखिएपछि चिकित्सक संघले कार्यदल पूर्णरूपमा निष्क्रिय रहेको आरोप लगाएको छ । संघले सहमति कार्यान्वयन गर्न सरकार उदासिन देखिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।