गोलबजार नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा


सिरहा । सिरहाको गोलबजार नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित एक विशेष कार्यक्रममा सोमबार यस्तो घोषणा गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख तथा जिल्ला खोप समन्वय समितिका सहसंयोजक दिलिप लामाले खोप सुनिश्चितता घोषणा गर्दै खोप अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने,’पूर्ण खोप अभियान एकपटकको कार्यक्रम होइन, यो निरन्तर चलिरहने जिम्मेवारी हो । समुदायको सक्रियता र स्वास्थ्यकर्मीहरूको समर्पण नै यसको सफलताको आधार हो ।’

उपप्रमुख लामाले गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे । त्यस अवसरमा नगर प्रमुख श्रेष्ठले खोप अभियानलाई सफल बनाउन योगदान दिने सम्पूर्ण कर्मचारी, स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।

नगर स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले राष्ट्रिय खोप तालिकाअनुसार नगरका १४ वटै वडामा खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि यस्तो घोषणा गरिएको बताए ।

घोषणाअघि गरिएको सर्वेक्षण, खोप अभिलेख सङ्कलन तथा अभिमुखीकरण अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्त्वपूर्ण भूमिका रहेको कार्यक्रममा जानकारी दिइएको थियो । त्यस क्रममा खोप सहजीकरणका लागि योगदान गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

पालिकास्तरीय पूर्ण खोप सुनिश्चितताबारे थप जानकारी दिँदै स्वास्थ्य कार्यालयकी खोप अधिकृत सुनिता कँडेलले भनिन्,’पूर्ण खोप सुनिश्चितता कुनै एक तहको काम होइन, यो समन्वय, लगनशीलता र निरन्तर निगरानीको नतिजा हो ।’