राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत


दाङ । राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा सहायक प्राध्यापक डा. रञ्जितकुमार शाहको आगमनसँगै केही दिनअघि जलविन्दुको विशेष उपचार सेवा सुरु भएको हो । सेवा सुरु भएसँगै बिरामीहरू घर आँगनमै उपचार पाएको भन्दै खुसी भएका छन् ।

तुलसीपुर–१५ की ८३ वर्षीया जयमोती थरुनीले लामो समयपछि उपचार सेवा पाएपछि खुसी व्यक्त गरिन् । घरबारविहीन थरुनीले उपचारपछि नयाँ जीवन पाएको अनुभव भएको बताइन् ।

डा. शाहका अनुसार यहाँ बहिरङ्ग सेवा (ओपिडी) लिन दैनिकजसो दुईदेखि तीन सय बिरामी आउने गरेका छन् । तीमध्ये पाँचदेखि सात जनामा जलविन्दुको समस्या देखिने गरेको छ ।

‘जलविन्दु आँखामा दबाब बढेर दृष्टिमा असर पुर्‍याउने रोग हो । प्रारम्भिक अवस्थामा उपचार सुरु गरिएमा दृष्टि जोगाउन सकिन्छ तर धेरैजसो बिरामी ढिलो गरी अस्पताल आउने भएकाले दृष्टिमा स्थायी क्षति पुगिसकेको हुन्छ’, डा शाहले भने ।