स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।
प्युठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा थिए । नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बीमा सुधार गर्न स्वास्थ्य बीमा नीतिको समीक्षा र सुधार गरी सबै नागरिकलाई समेट्ने योजना रहेको बताए ।
बीमाको दाबी भुक्तानी प्रक्रिया छिटो र पारदर्शी बनाउने, बिमा कोषको पारदर्शी र प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा बोर्डको स्थायी संगठन संरचना स्वीकृतिका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
स्वास्थ्य बीमाको महत्त्वबारे जनचेतना अभियान चलाउने तथा सरकार, निजी क्षेत्र र अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गरी बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उनले बताए ।