प्रदेश अस्पताल सुर्खेतमा ‘क्याथल्याब’ सेवा सञ्चालन
काँक्रेविहार (सुर्खेत) । प्रदेश अस्पताल सुर्खेतमा ‘क्याथल्याब’ सेवा सुरुआत भएको छ । वीर अस्पतालका विज्ञसहित प्रदेश अस्पतालको स्वास्थ्यकर्मीको टिमले ‘बाइप्लेन क्याथल्याब’ मेसिन जडान गरेको थियो ।
उक्त मेसिनबाट बिरामीको एनजिओग्राफी सेवा सुरु भएसँगै मुटुरोगीहरूको जाँचका साथै क्याथल्याब सेवासमेत सुरु भएको सूचना अधिकारी तथा मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले जानकारी दिए । यही फागुन ५ गतेदेखि सुरु भएको सेवा अब नियमित हुने उनले बताए ।
कर्णालीका नागरिकलाई जटिल खालको उपचार सेवा प्रदान गर्न उक्त मेसिन खरिद गरिएको उनले जानकारी दिए। यसबाट हृदयघात तथा पक्षघातलगायत जोखिमबाट व्यक्तिलाई बचाउन मद्दत गर्ने उनले बताए । विशेषगरी मुटुका बिरामीका लागि उक्त मेसिन प्रभावकारी हुने गर्छ । रु ११ करोड लागतमा उक्त मेसिन खरिद गरिएको थियो ।
यसबाट रगतको नलीबाट क्याथेटर छिराएर मुटुसम्म पुगेर मुटुको नली ठिक भए/नभएको जाँच गर्ने, मुटुका विभिन्न अध्ययन गर्ने, बन्द भएको रगतको नली खुलाउनेजस्ता प्रोस्युडर गरिने चिकित्सकहरूले बताएका छन् । विगतमा हृदयघात भएपछि हस्पिटलमा छाती चिरेर मुटुको बन्द भएको नलीलाई अरु नलीसँग जोडेर मुटुको रक्तनली सञ्चालन ल्याउनुपर्दथ्यो ।
यसबाट ‘पोष्ट कम्प्लिकेसन’ आउनसक्ने सम्भावना हुन्थ्यो । अब केवल क्याथल्याबमा हात वा खुट्टाको रगतको नलीबाट क्याथेटर छिराएर बन्द भएको रगतको नली सफा गरेर जाली राखेपछि फेरि रगतको नली पुनः स्थापना गरिने बताइएको छ ।