गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु
गुल्मी । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्व स्वास्थ्य संगठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो ।
विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै प्रकारका सेवा डिजिटल प्रविधिका माध्यममा स्पष्ट देखिने भएको छ । विश्व स्वास्थ्य संगठन नेपालका डा एलीसन गोकोटना र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुल्मी अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गर्दै विश्व स्वास्थ्य संगठन नेपालका डा. गोकोटनाले यो सेवाबाट नागरिकलाई धेरै सहजता पुर्याउने भन्दै जिल्लावासीले यसको अधिकतम प्रयोग गरेर सेवा लिन आग्रह गरे । यस अभिलेख प्रणालीबाट बिलिङ, टिकटिङ, डाक्टरको उपलब्धता, औषधिलगायत विवरण अभिलेख प्रणालीमार्फत जानकारी पाउन सकिने अस्पतालका निमित्त कार्यालय प्रमुख वैभव बस्यालले जानकारी दिए । यसबाट बिरामीलाई विगतदेखि वर्तमानसम्मका विवरण सहजै रूपमा उपलब्ध हुने बताइएको छ ।
विद्युतीय चिकित्सा अभिलेख प्रणालीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले यो सेवा सञ्चालन भएसँगै बिरामीलाई कागजी प्रक्रियाको झन्झट नहुने बताए । उनले स्वास्थ्य मन्त्रालय मातहतमा रहेका सबै सवारी साधनमा जिपिएस जडान गर्ने, शुल्कसहितको नागरिक बडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको नाम देखिने गरी राख्नेलगायत काम सुरु गरेको बताए ।
विश्व स्वास्थ्य संगठन नेपालका अधिकृत सुदन ज्ञवालीले विद्युतीय चिकित्सा अभिलेख प्रणालीमार्फत बिरामीको समय, खर्चको बचत हुनुका साथै परीक्षणमा हुने दोहोरोपनको अन्त्यका अतिरिक्त स्वास्थ्यसम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने बताए ।
यसबाट सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुने उनको भनाइ छ । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा पहिलो हो । पचास शय्या रहेको गुल्मी अस्पतालमा अर्घाखाँची, प्युठान, बागलुङलगायत जिल्लाका नागरिकले सेवा लिँदै आइरहेका छन् ।