बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल



 

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भनेर बाहिर किन्न पठाए कारबाही गर्ने बताएका छन् । विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

“कतिपय अस्पतालका फार्मेसीले नियतवश नै बिरामीलाई औषधि छैन भन्ने गरेको सुनिएको छ,” मन्त्री पौडेलले भने, “औषधि छैन भन्ने फार्मेसी किन राख्ने, त्यस्ता कार्य नियतवश हुन्छन्, त्यसैले अबदेखि फार्मेसीले बिरामीलाई औषधि छैन भन्न पाइँदैन, त्यो गैरकानुनी हन्छ । कारबाहीको भागिदार हुन्छ ।”

सरकारी अस्पतालमा भएका उपकरण बिग्रियो भनेर हप्तौँसम्म नबनाउने र बिरामीलाई बाहिर जान बाध्य पार्ने कार्य पनि अब रोक्नुपर्ने भन्दै उनले अस्पतालका उपकरण बिग्रिए तत्कालै अस्पतालमै अर्को विकल्प दिनुपर्ने बताए । उनले अस्पतालका उपकरण नबिग्रिकन बिग्रियो भन्ने अवस्थाको पनि अब अन्त्य हुनुपर्ने बताए ।

स्वास्थ्य बीमालाई एकीकृत प्रणालीबाट मात्रै लागू गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले भने, “सबै अस्पतालमा बिमा काउण्टर राख्न मैले भनेको छु, बिमामा झुटो दाबी रोक्नु आजको आवश्यकता हो, अस्पतालले नगदमा उपचार गराए  ५० रूपैयाँ लिने तर त्यही सेवा बिमाबाट भए ८० रूपैया लगाउने, नगद गरे एक बेडको चार्ज एक हजार लगाउने तर बिमाबाट गए त्यही सेवा दुई हजार लाग्ने यस्ता गलत प्रवृत्ति अब रोकिनुपर्छ ।”

मन्त्री पौडेलले नागरिक योदानमा आधारित बीमा प्रणाली लागू गरी स्वास्थ्य बीमालाई एक लाखबाट बढाएर पाँच लाख बनाउने तयारी गरेको जानकारी दिए । स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको भन्दै उनले यसलाई पारित गरेर बिमालाई अनिवार्य र व्यवस्थित गरिने बताए ।

मन्त्री पौडेलले क्यान्सर सरभाइभर बिरामीलाई दोसल्ला ओढाइ सम्मान गर्नुका साथै लामो समयदेखि प्यालिएटिभ वार्डमा स्वयम्सेवकका रूपमा सेवा गरेका शङ्कर प्रधानाङ्ग र दीपक ओलीलाई सम्मान गरे ।

देशका १७ लाख किशोरीलाई एचपिभी खोप लगाउने अभियान आजदेखि सुरू भएको भन्दै उनले आठ हजार २०० खोप केन्द्रमा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूले एचपिभी खोप प्राप्त गर्ने गरी देशैभरि प्रबन्ध गरिएको बताए ।

नेपालमा हरेक वर्ष करिब २२ हजार जनालाई क्यान्सर रोग लाग्ने र १४ हजार जनाको बर्सेनि क्यान्सर रोगका कारण मृत्यु हुने तथ्याङ्क रहेको भन्दै उनले यस्तो अवस्थालाई नियन्त्रण गर्न रोगै लाग्न नदिने गरी जनचेताना फैलाउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडा, अस्पताल विकास समितिका अध्यक्ष दिपेन्द्ररमण सिंहलगायतले बिरामीलाई कुनै पनि प्रकारको कष्ट नहुने गरि सेवा दिनुपर्ने औंल्याए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको

१० देखि १४ वर्षका किशोरीलाई निःशुल्क क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर