स्वास्थ्यमन्त्रीद्वारा ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत


काठमाडौं । एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले विद्युतीय रुपमा प्राप्त गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गरेका छन् ।

यसबाट एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले विद्युतीय रुपमा प्राप्त गर्ने गरी मन्त्री पौडेलले एकीकृत ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गरेका हुन् ।

यस निर्देशिकाको कार्यान्वयनपछि अबः

१) सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली अन्र्तगत एक अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ ।

२) बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुनेछ ।

३) रोगको निदान तथा उपचार पद्धतीमा बिरामीलाई कम भार पर्नेछ ।

४) एकीकृत तथ्यांकको भण्डारण र व्यवस्थापनले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुनेछ ।

५) फरक फरक खालका तथ्यांक पहिलो पटक मन्त्रालयको नियन्त्रणमा रहने केन्द्रीकृत प्रणालीमा आबद्ध हुँदा श्रोत छरिने र धेरै प्रणाली सञ्चालनको समस्या हट्नेछ ।

६) राज्यको स्वास्थ्य नीति निर्माण र प्राथमिकता तय गर्न तथ्यांक सहज प्राप्त गर्न सकिनेछ ।

यस निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालयले सरोकारवाला क्षेत्रबाट सकारात्मक सहयोग र प्रतिक्रियाको अपेक्षा गरेको छ ।