‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली



बरहथवा(सर्लाही) । सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ एक्कासि सुत्केरी बेथाले च्याप्यो । उनलाई श्रीमान् अरुण पासवानले हतारहतार गाउँमा रहेको बर्थिङ सेन्टर पुर्याए । बबिताको पहिलो बच्चा जन्मदै थियो । उनले सोही बर्थिङ सेन्टरमा नियमित गर्भ परीक्षणसमेत गराएका थिए ।

स्वास्थ्यकर्मीहरुको नियमित निगरानीमा बच्चा र आमा स्वस्थ रहेकाले बच्चा सामान्य ढङ्गले जन्मिन्छ भनेपछि बबिताका श्रीमान् अरुण पनि ढुक्क थिए । बबितालाई दुई घण्टामै परिवारले बर्थिङ सेन्टर पुर्याएका थिए । बर्थिङ सेन्टर पुगेको १० मिनेटपछिनै उनको बच्चा जन्मियो । सामान्य ढङ्गले बच्चा जन्मिए पनि बच्चा ठूलो भएकाले योनीमा चोट अर्थात ‘भजाइन् टियरिङ’ भयो ।

त्यसपछि बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र बिमारीका आफन्तलाई आपत आइलाग्यो । सुविधा सम्पन्न भनेर ल्याएको बर्थिङ सेन्टरमा सामान्य घाउ सिउनको लागि आवश्यक सियो(क्याटगड) समेत थिएन । उपचारमा खटिएकी स्वास्थ्यकर्मीले कतै मेडिकलबाट किनेर तत्काल ल्याउनु भन्दै आवश्यक सामानको सूची बबिताको श्रीमानको हातमा राखिदिइन् तर मध्यरातमा कुनै उपाय थिएन ।

यता बत्रिता रगत बगाउँदै शय्यामा छटपटाइरहेकी थिइन् । स्वास्थ्यकर्मीले बबितालाई ढाडस दिँदै आफूले सिकेको अनेक उपाय लगाएर रगत रोक्ने प्रयास गरिरहेकी थिइन् । भोलिपल्ट बर्थिङ सेन्टर नजिकैको मेडिकल खुलेपछि औषधि र सामान ल्याएर उपचार गरियो ।

बबिता जस्तै हरिपूर्वा नगरपालिका–६, निवासी १९ वर्षकी रेजिना कार्कीलाई पनि गत कात्तिक १२ गते सुत्केरी ब्यथा लाग्यो । परिवारले तत्काल बर्थिङ सेन्टर पुर्याएको केही समयमै सामान्य हिसाबलेबच्चा जन्मियो । तर, बच्चा जन्मने क्रममा रेजिनाको पनि भजाइन टेयरिङ भएर रक्तस्राव भयो ।

बर्थिङ सेन्टरमा सामान्य उपचारको सामान समेत नभएपछि उनको परिवारले पनि हातमा औषधिको सूची लिएर रातभर हारगुहार गर्नुपर्यो । तर, कुनै उपाय नलागेपछि बबिताले जस्तै रेजिनाले पनि जोखिमपूर्ण ढङ्गले भोलिपल्ट बिहान हुने पर्खाइमा पीडा सहेर बस्नुपरेको थियो ।

सामान्य उपकरण र औषधि नहुँदा बर्थिङ सेन्टर आउने बबिता र रेजिना जस्ता आमा र नवजात शिशुको ज्यान जोखिममा रहेको छ । सुविधा सम्पन्न भनिएको बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने गर्भवतीका आफन्तले आवश्यक पानीदेखि सियो धागो र स्वास्थ्यकर्मीको लागि पञ्जासम्म आफैँले किनेर ल्याउनुपर्ने बाध्यता रहेको रेजिनाका श्रीमान् अवधेशकुमार यादव बताउँछन् ।

सामान्य एउटा कोठालाई बीचमा बारेर दुई कोठा बनाएर बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । रातको समयमा बिजुली गएको समयमा मोबाइलको बत्ती बालेर सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य चौकीका प्रमुख उमेशकुमार यादव नगरपालिकाबाट आवश्यक बजेट विनियोजन नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताउँछन् । स्वास्थ्य चौकीमासमेत सरकारले निर्णय गरेको निःशुल्क वितरण गर्नुपर्ने १०/१५ प्रकारको औषधि सधँै अभाव हुने गरेको उनको भनाइ छ ।

अहिले चिसो समयमा धेरै रुघा, खोकी र ज्वरोका समस्या भएका बिमारी आउने गर्छन् तर आवश्यक औषधि नहुँदा बिमारी यसै फर्केर जाने गरेका छन् । एक गैरसरकारी संस्थाले केही उपकरण उपलब्ध गराएपछि पाँच वर्षअघि सुरु भएको बर्थिङ सेन्टरका अधिकांश उपकरण अहिले काम नलाग्ने भइसकेका छन् । नियमित मर्मत नहुँदा बच्चालाई तातो बनाउने(बेबी वार्मर), पानी तताउने भाँडो काम नलाग्ने भएको छ ।

यता हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले सबै नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा पाइरहेको दाबी गरे । नगरका स्वास्थ्य चौकीहरुमा नियमित रुपमा निःशुल्क औषधि वितरण भइरहेको भन्दै तत्काल थप बुझेर समस्या समाधान गरिने बताए । नगर अस्पताल सञ्चालनको तयारी समेत गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण

स्वास्थ्यमन्त्री पौडेलद्वारा भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल

तीन वर्षपछि बिपी क्यान्सर अस्पतालमा पुनः ‘मेमोग्राफी’ सेवा

  चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुवात

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः स्वास्थ्य मन्त्री पौडेल

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य