भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल



चितवन । चितवन को भरतपुर अस्पतालमा अर्थोपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले आज बिहान मातहतका कर्मचारीलाई आज दुई सय ५० भन्दा बढीको टिकट नकाट्न निर्देशन दिए । उनले भने, “हिजो टिकट काटेका एक सयभन्दा बढी बिरामी उपचार नलिई फर्किनु पर्यो, सेवा नलिई बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुन्छ ।”

स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै उक्त टिकटबाट सेवा लिन सकिन्छ । अर्को दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ । आईतबार बिहानभरी लाइन बसेर टिकट काटेका एक सयभन्दा बढी बिरामी फिर्ता भएका अस्पतालका अर्थोपेडिक सर्जनसमेत रहेका डा पौडेलले बताए । उनीहरुले आज परीक्षण गर्न पुनःटिकट काट्नुपर्ने हुन्छ ।

सरकारी भरतपुर अस्पतालमा यो समस्या अर्थोपेडिकसँगै मेडिकल, सर्जिकललगायत विभागमा छन् । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सयभन्दा बढी बिरामी आउने बताउँदै डा पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गरे । स्वास्थ्य बीमामार्फत सेवा लिनेको घुइँचो, सीमित जनशक्तिलगायत कारण लामो लाइन बसेर काटेको टिकटबाट कतिपयले उपचार नलिई फर्किनुपरेको उनले स्वीकारे ।

डा पौडेलका अनुसार पत्थरीको शल्यक्रियाका लागि एक वर्ष दुई महिनापछिको पालो दिनुपर्ने अवस्था छ । शल्यक्रिया गर्दा शरीरभित्र राखिएको ‘स्टिल’ निकाल्न एक वर्ष पालो कुर्नु परिरहेको भन्दै उनले आकस्मिक बाहेकका सबै शल्यक्रियाका लागि लामो समय पालो कुर्नुको विकल्प नभएको बताए ।

“आईतबार अस्पतालमा बहिरङ्ग सेवा लिन आएका दुई हजार छ सय ५४ बिरामीमध्ये एक हजार सात सय ४५ जना स्वास्थ्य बीमामार्फत् सेवा लिने बिरामी थिए । यो सङ्ख्या कुनै दिन तीन हजार नाघ्ने गरेको छ”, पौडेलले भने ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङ्गको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताए । अहिले अस्पतालमा बिहान ९ः३० बजेदेखि ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन हुँदै आएकामा मङ्गलबारदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा सञ्चालन गरिने उनले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देश गरेको छ । सोहीअनुसार चिकित्सकलाई अप्ठ्यारो नपर्ने गरी व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले बताए । उनका अनुसार पहिलो सिफट्मा ९ बजेदेखि अपह्रान्न २ सम्म र दोस्रोमा ११ बजेदेखि अपह्रान्न ४ बजेसम्म सिफ्ट मिलाइएको छ ।

पहिलो सिफट्मा ८० प्रतिशत र दोस्रोमा २० प्रतिशत चिकित्सक आउने जनाउँदै अध्यक्ष पौडेलले अपुग चिकित्सकका लागि नयाँ नियुक्तिको मागसहित सूचना प्रकाशित गरिएको जानकारी दिए । उनले भने, “अस्पतालमा आउने बिरामी उपचार नपाएर फर्किनु हुँदैन । अब पुरानो तरिकाले नयाँ परिणाम पाउन सकिँदैन । बहिरङ्गको समय बढाएर सेवा दिने तयारी भइसकेको छ ।”

हाल अस्पतालमा अस्पताल विकास समितिका तर्फबाट ९० र सरकारी/स्थायी ४५ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । मेडिकल अधिकृत ५९, छात्रवृत्ति÷करारका चिकित्सक ३६ र चार सय २५ जना नर्स रहेका अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या