रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य



प्रा. सुदर्शनप्रसाद नेपाल
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो । प्रारम्भमा वीर अस्पतालको हातामा लक्ष्मी ब्लड बैंकको रूपमा पहिलो रगत बैंक सञ्चालनमा ल्याइएको थियो । नेपालमै पहिलो रगत बैंकको रुपमा स्थापित यस केन्द्रले एक वर्षको अवधिमा जम्मा १५७ युनिट मात्र रगत सङ्कलन गरको थियो । सुरूका दिनहरूमा रगतको किनबेच गर्ने पेशेवर व्यक्तिहरूबाट समेत रगत सङ्कलन गर्ने गरिएकामा २०३९/४० देखि त्यस्ता व्यक्तिहरूबाट रगत नलिई स्वयंसेवी रगतदाताहरूको संख्यामा वृद्धि गरी रगत सङ्कलन गर्न थालिएको हो । २०४८ चैत २४ मा तत्कालीन सरकारले रेडक्रसलाई नै नेपालभर रक्तसञ्चार सेवा सञ्चालनको एकल अधिकार दिएको थियो । २०५० सालमा सरकारबाट रक्तसञ्चार सेवाको राष्ट्रिय नीति स्वीकृत भई लागू भएको थियो । २०६३ सालमा उक्त नीति परिमार्जन गरी स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा राष्ट्रिय निर्देशक समिति गठन गरिएको थियो । त्यसलाई कार्यान्वयन गर्न रक्तसञ्चार व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका पनि तयार गरियो ।

२०७१ मा बनेको राष्ट्रिय रक्तसञ्चार नीतिमा नेपालमा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालन गरिएको रक्तसञ्चारलाई नै सरकारले केन्द्रमा राख्यो । सोहीअनुरूप नेपाल रेडक्रस सोसाइटीकै पहलमा काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवा सञ्चालनमा छ । यसका साथै देशभर नेरेसोका १२० वटा रक्तसञ्चार सेवा केन्द्रहरू सञ्चालनमा छन । यसका साथै सरकारले रक्त सञ्चार सेवा सञ्चालनको मापदण्ड २०७२ पनि जारी गरेको छ ।

सरकारले जारी गरेको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ ले रक्तसञ्चार सेवालाई थप व्यवस्थित बनाउन विभिन्न मापदण्डहरू तय गरेको छ । यसअन्तर्गत रक्त सञ्चार केन्द्रहरू ए, बी, सी, डी र ई गरेर पाँच श्रेणीमा विभाजन गरिएका छन् । अस्पताल बाहिर सञ्चालन हुने एकल रक्तसञ्चार केन्द्रहरू भने ‘ए’ वर्गको हुनुपर्ने उल्लेख छ । नेपाल रेडक्रसले रक्तसञ्चार सेवा सञ्चालन जस्तो मानवीय कार्यलाई क्रमिक रूपमा नेपालभर विभिन्न स्थानमा विकास तथा विस्तार गर्दै लगेको छ । यसका अतिरिक्त संस्थागत रूपमा रगत दान गर्नेहरूको अभिरूचिमा वृद्धि भएको पाइएको छ । यस अर्थमा नेपालमा जीवन बचाउनको लागि स्वयंसेवीहरूले रक्तदान गर्ने पवित्र कार्यको संस्कार बसाल्न नेरेसोले अद्वितीय भूमिका खेलेको छ ।

हाल नेपाल सरकारको राष्ट्रिय रक्तसञ्चार नीतिवमोजिम आवश्यकतामा रहेका बिरामीहरूको लागि सुलभ र गुणस्तरीय रक्तसञ्चार सेवा उपलव्ध गराउन नेपाल रेडक्रस सोसाइटीले आफ्ना देशभरीका विभिन्न निकायमार्फत् निरन्तर सेवा प्रवाह गर्दै आएको सबै सामु छर्लङ्ग छ । काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगञ्ज र धनगढीमा प्रदेश स्तरीय रक्तसञ्चार सेवा सञ्चालन भइरहेको छ । यसैगरी २४ जिल्लामा जिल्लास्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्तसञ्चार सेवा प्रदान गरिएको छ । मधेश प्रदेश र कर्णाली प्रदेशमा पनि प्रदेशस्तरीय रक्तसञ्चार सेवा स्थापनाको लागि नेरेसो प्रयत्नशील छ । विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्तसञ्चार सेवा प्रदान भइआएको छ । समग्रमा नेपालको ७३ जिल्लाका १२० स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशील छन् । आर्थिक वर्ष २०७९/८० मा नेरेसोबाट सञ्चालित एकाइ तथा सेवा केन्द्रबाट दुई लाख ८१ हजार तीन सय १६ युनिट रगत सङ्कलन गर्न र तीन लाख ९१ हजार आठ सय ५३ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराउन यो सेवा सक्षम भएको छ भने आगामी आर्थिक वर्षमा पनि विरामीको आवश्यकता अनुरूप रगत सङ्कलन गरी गुणस्तरीय सेवा पुर्याउने लक्ष्य रहेको छ ।

प्रदर्शनी मार्ग काठमाडौँको केन्द्रीय रक्तसञ्चार सेवाको भवन २०७२ सालको महाभूकम्पले क्षति भएकाले अहिले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय परिसरमा बनेको अस्थायी भवनबाट सेवा पुर्याइएको छ । साविककै स्थानमा थाई रेडक्रसको सहयोगमा केन्द्रीय रक्तसञ्चार सेवाको आधुनिक सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भई आन्तरिक व्यवस्थापनको कार्य भइरहेकाले निकट भविष्यमा पुनः प्रदर्शनी मार्गबाट अझ प्रभावकारी सेवा उपलब्ध गराउने तयारी भइरहेको छ ।

सुरक्षित रगतको लागि मापदण्ड परिपालन

सुरक्षित रगत सुरक्षित रक्तदाताबाट सुरू हुन्छ । टान्सफ्यूजन ट्रान्समिसेवल इन्फेक्सनलाई दृष्टिगत गरी रक्तदान गर्ने सबै रगतदाता र विशेषगरी घुम्ती रक्तदान कार्यक्रममा रगत दान गर्ने व्यक्तिहरूको छनोटमा विशेष निगरानी गर्ने तथा विगतको स्वास्थ्यको जानकारी लिने गरिएको छ । रक्तदाता छनोट गर्दा रक्तदाताको भौतिक परीक्षणहरू गरिन्छ । सङ्कलन गरिएका सबै रगतका इकाईहरूमा एचआईभी, एचबीएसएजी, एचसीभी, सिफिलिस परीक्षणका साथै वितरणपूर्व अनुकूलता परीक्षण गरिन्छ । केन्द्रीय रक्तसञ्चार सेवामा टीटीआईएस परीक्षणको लागि अत्याधुनिक प्रविधि क्लिया शुरु गरिएको छ ।

रगतको तत्व निर्माणअन्तर्गत प्लाज्मा, प्लेटलेट्स, क्रायो र क्याकसेल रे रक्तसेल, प्लेटलेट रिच प्लाज्मा, एलडिपिआरबिसी तथा अन्यको पनि निर्माण गरी आवश्यकतानुसार विरामीहरूलाई उपलब्ध गराइँदै आइएको छ । यसरी वितरण गर्दा केन्द्रीय रक्तसञ्चार सेवामा ४६.५७ प्रतिशत र देशभरि औसत कम्पोनेन्ट सेवा ३६.४१ प्रतिशत रहेको छ र भविष्यका कम्पोनेन्ट सेवा अझै थप गर्दै जाने प्रतिबद्धता पनि रहेको छ । केन्द्रीय रक्त सञ्चार सेवाद्वारा विभिन्न संघसंस्थाहरूको सहयोगमा घुम्ती रक्त सङ्कलन कार्यक्रममार्फत ८७३ वटा घुम्ती रगत सङ्कलन कार्यक्रममार्फत ३२ हजार चार सय ९९ युनिट रक्त सङ्कलन गरिएको छ, जसमध्ये २५ हजार सात सय ६० युनिट पुरूष रक्तदाताबाट र छ हजार सात सय ३९ युनिट महिला रगतदाताबाट रगत सङ्कलन भएको छ । यसरी सुलभ, गुणस्तरीय र मर्यादित सेवा नेपालको रक्तसञ्चार सेवाको मूल भावनालाई कार्यान्वयनमा लैजादै रक्तसञ्चार सेवा सुसञ्चालन गर्न नेपाल सरकारले संस्थालाई दिएको जिम्मेवारी बमोजिम केन्द्रीय रक्तसञ्चार सेवा र विभिन्न प्रादेशिक तथा जिल्ला एवं आकस्मिक सेवा केन्द्रहरुबाट रक्त उत्प्रेरणा, सङ्कलन, ल्याव परीक्षण र गुणस्तर व्यवस्थापनका कार्यहरु र वितरण सेवा सुचारु छ ।

नेपाल रेडक्रस, सरोकारवाला संस्थाहरुको पैरवी र सुझावलाई मध्यनजर गरी नेपाल सरकारले देशभरि प्रविधि अनुसार सेवा शुल्कमा एकरुपता ल्याउने निर्णय गरेको छ, जुन वर्षौदेखिको समस्या रहिआएको थियो । प्राविधिक र लागतका दृष्टिले औचित्यपूर्ण हुने गरी प्रतियुनिट सेवा शुल्कको सीमा रु.८१० देखि अधिकतम् रु.एक हजार ६४० कायम गर्ने र हाल सेवा शुल्क वढी रहेका सेवा केन्द्रहरुले सोहीअनुसार समायोजन गर्ने निर्णय भएको छ । यस निर्णयले प्रविधिलाई प्रोत्साहन गरेको छ र रक्तसञ्चारमा खर्च लाग्छ भन्ने विषयलाई स्पष्ट पारी शुल्क लिन सकिने शीर्षकहरु स्पष्ट पारेको छ ।

विरामीहरुले सहुलियतमा रगत तथा रक्ततत्व पाउने गरी सरकारसँग नेरेसोका विभिन्न रक्तसञ्चार केन्द्रहरुले अनुरोध पैरवी गरेका छन् । गण्डकी प्रदेशमा पूर्णरुपमा रगत तथा रक्ततत्व निःशुल्क कार्यक्रम सुरु भएको छ, बागमती र लुम्बिनी प्रदेशमा निश्चित सरकारी अस्पतालबाट सेवा लिनेलाई निःशुल्क कार्यक्रम सुरु भएको छ । त्यस्तै विभिन्न पालिकाहरुले आफ्ना कार्यक्षेत्रका बासिन्दाहरुलाई निःशुल्क रगत सेवा कार्यक्रम रेडक्रसको सहकार्यमा सुरु र निरन्तरता दिएका छन् । कञ्चनपुर, धादिङलगायतका जिल्ला शाखाले स्थानीय पालिकाहरुको सहकार्यमा पूर्ण निःशुल्क कार्यक्रम अघि बढाएका छन् ।

नेपाल सरकारबाट थालेसिमिया, सिकलसेल एनिमिया र हेमोफिलिया भएका १४ वर्षमुनिका बालबालिकालाई कान्ति बाल अस्पतालबाट विशेष उपचार सेवा सुरु गरिएकामा चालु आर्थिक बर्षको लागि पनि ती बिरामीको लागि सरल प्रकृयाबाट रगत उपलव्ध गराउने सम्झौता नवीकरण हुनेछ । वयस्कहरुलाई लक्षित यस्तो सेवा वीर अस्पतालमा पनि सुरु भएको छ । रक्तसञ्चार सेवाको गुणस्तर बढावा दिने हेतुले विभिन्न जिल्ला शाखाका रक्तसञ्चार केन्द्रहरुले कम्पोनेन्ट सुविधा विस्तार गरेका छन् । केन्द्रीय रक्तसञ्चार सेवामा एफरेसिस सेवा सुरु गरिएको छ । भरपर्दो क्लिया पद्धतीबाट रक्तसङ्क्रमण परिक्षण सुरु भएको छ । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला, राष्ट्रिय रक्तसञ्चार व्यूरो, ग्लोबल एडभाइजरी प्यानल, जापनीज रेडक्रस, अमेरिकन रेडक्रस, थाई रेडक्रसको सहयोगमा सञ्चालित परियोजनाहरूमार्फत विभिन्न गतिविधिहरू सञ्चालन भएका छन् तथा यी परियोजनाहरूबाट प्राप्त उपकरणहरू केन्द्रलगायत विभिन्न जिल्लामा सञ्चालित रक्तसञ्चार सेवामा प्रयोगमा आएका छन् र यी उपकरणहरूबाट रक्तसञ्चार सेवाको सेवा प्रवाह र गुणस्तर अभिवृद्धिमा सहयोग पुगेको छ ।

रक्तदाता उत्प्रेरणा तथा रक्त सङ्कलन कार्यमा ब्लड डोनर्स एसोसिएसन नेपाल तथा यसमा आवद्ध संस्थाहरू, स्वयंसेवी रक्तदाता समाज तथा यसमा आवद्ध संस्थाहरू, गणेशमानसिं अध्ययन प्रतिष्ठान, सङ्कटा क्लब, फ्रेण्डस अफ आर.एच. नेगेटिभ, हाम्रो लाईफ बैंक, दीर्घायु अस्पताल, शान्तिज्ञान सत्संग भजन मण्डल, नेपाल रेडक्रस सोासइटीका विभिन्न निकायहरु, सत्यसाइ सेवा सङ्गठन, लायन्स क्लब, लियो क्लब, रोटरी क्लब, रोटर्याक्ट क्लब, नेपाल जेसिस, बैंक तथा वित्तिय सस्थाहरु, सहकारी संस्थाहरु, श्वेता रक्तदान अभियान, फ्रेस ब्लड डोनर्स, राजनीतिक दल र भातृ सङ्गठनहरु, फ्रेस ब्लड डोनर्स, नेपाल थालसेमिया सोसाइटी रेयुकाईलगायत धेरै संघ सस्थाहरूले नियमित तथा वार्षिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरी यस सेवालाई उल्लेखनीय सहयोग पुर्याइरहेका छन् ।

केन्द्र तथा जिल्लामा सञ्चारमाध्यमहरुले उत्प्रेरणा र रक्तदानमा उल्लेखनीय सहयोग गरेका छन् । रक्तदाता संघ संस्थाहरुलाई नियमित रक्तदानको लागि उत्प्रेरणा र प्रोत्साहनको लागि केन्द्रीय रक्तसञ्चार सेवाबाट हरेक तीन तीन महिनाभर एक कार्यक्रममा ५० युनिटभन्दा बढी रक्तदान गराउने संघ संस्थाहरुलाई प्रसंसा टोकनबाट सम्मान गर्ने गरिएको छ । प्रदेश सरकार र नरपालिकाहरुको सहयोगमा बिरामीहरुको लागि आवश्यक ५,३३४ युनिट रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराइएको छ ।

भावी रणनीति र प्राथमिकताहरू

स्थापनाकालदेखि विभिन्न अवस्था पार गर्दै आफ्ना सेवाहरु दिने क्रममा रक्तसंचार  सेवामा अझै चुनौतीहरु सामना गर्नुपरिरहेको छ । आधुनिक चिकित्साको विकाससँगै रगत र रक्ततत्वको माग पनि बढिरहेको छ । यसलाई परिपूर्ति गर्न बजेटसहितको राष्ट्रिय योजनाको खाँचो देखिएको छ । रगतको चिकित्सकीय प्रयोगलाई व्यवस्थित बनाउनु पर्नेछ । हरेक सेवा केन्द्रमा आर्थिक सबलीकरणको लागि दिगो स्रोतको थप व्यवस्था गर्नुपर्ने छ । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न निश्चित मापदण्डको प्रविधि तथा उपकरणको व्यवस्था गर्न थप स्रोत, साधन परिचालन गर्न आवश्यक छ ।

बढी रगत माग हुने जिल्लामा माग अनुसार आपूर्ति गर्न यथेष्ट रगत सङ्कलनको लागि यस सेवालाई अझै प्रभावकारी गराउँदै लैजान, समुदायस्तरमा रक्तदाता संघ संस्था, स्थानीय निकायहरू, अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग समन्वय बढाउँदै लैजान एकद्धार योजना, प्रतिवेदन, सूचना आदान प्रदान र अनुगमन पद्धति चुस्त बनाउनुपर्ने देखिएको छ । सेवामा एकरुपताको लागि स्तरीय विधि, पद्धति र संरचना पुनःनिर्माण वा पुनःपरिभाषित गर्नुपर्ने छ । नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्डबमोजिम स्तर निर्धारण, मानव स्रोत व्यवस्थापन तथा उचित अनुगमन आवश्यकता देखिएको छ ।

युवा तथा महिला रक्तदाताको अनुपात अभिबृद्धि गराउन थप पहल गर्नु पर्नेछ । हाल रक्तसङ्कलनमा महिला रक्तदाता करीब १४ प्रतिशत मात्र रहेको छ । सम्बन्धित सरोकारवाला सङ्घसंस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमहरू, रक्तदान गर्ने गराउने तथा सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरी सेवामा साझा अवधारणा बनाउने र रक्तदान तथा रगतको उचित प्रयोगको चेतना बढाउनु पर्नेछ । रक्तसञ्चार सेवा देशको नागरिकको स्वास्थ्यको एक अभिन्न अङ्ग भएकोले विभिन्न तहका सरकारले गम्भीर ध्यान दिएर वार्षिक बजेट नै व्यवस्था गरी पूर्वाधार विकासदेखि गुणस्तर अभिवृद्धि तथा सेवा प्रवाहमा सहयोग पुग्ने भएकाले उक्त कदम चाल्न आवश्यक छ ।

अन्त्यमा, सरोकार राख्ने सङ्घसंस्था, स्थानीय निकाय एवं सबै नागरिकले यस मानवीय सेवामा सहयोग गर्न दायित्व महशुस गरी रक्तदान गर्न गराउन पहल र सेवालाई प्रभावकारी गराउन आवश्यक छ । रक्तसञ्चार केन्द्रले हाल आर्थिक हिसाबले घाटामा रहेर पनि जीवन बचाउने सेवा मानेर सेवालाई निरन्तरता दिइरहेको अवस्थामा संघीय, प्रादेशिक र स्थानीय सरकारबाट सेवा केन्द्रको स्तरोन्नति, गुणस्तरीयता तथा सुलभ सेवामा थप सहयोगको अपेक्षा गरिएको छ । रक्तदाताको पहिचान र सम्मान अभिवृद्धिमा सबै पक्षको योगदानको अपेक्षा गरिएको छ । सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसञ्चार सेवाको मूल भावनालाई कार्यान्वयनमा लैजान र नेपाल सरकारले संस्थालाई दिएको जिम्मेवारी पूरा गर्न नेपाल रेडक्रस सोसाइटी संस्थागत हिसाबले कटिबद्ध छ ।

(लेखक नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छारेरोगबाट बच्ने कसरी ?

-डा. राजीव झा हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ ।

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

  गण्डकी । गत पुस/माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौँ । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको

आफूहरुको अधिकारमाथि केन्द्र सरकारले हस्तक्षेप गरेको बालेनको आरोप

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न संघीय सरकारले