पाँचथर जिल्ला अस्पतालमा आइसियु सञ्चालन नहुँदा बिरामी मर्कामा



 

पाँचथर । पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड–१९ को महामारीका समयमा जिल्ला अस्पतालमा आइसियु स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए ।

दुई वर्षअघि निर्माण सम्पन्न भएको १० शय्याको  आइसियू कक्ष सञ्चालन हुन नसकेपछि जिल्ला अस्पतालमा उपचार हुने बिरामी तराईका अस्पताल जान बाध्य भउका हुन् ।

सङ्घीय सरकारको सहयोगमा दुई करोडको लागतमा छ वटा भेन्टिलेटर र पाँच वटा डायलाइसिस मेसिन जडान गरिएको अस्पतालमा सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । उनका अनुसार डायलाइसिस मेसिनको कात्तिक पहिलो साता परीक्षण गरी नियमित सञ्चालनको तयारी थालिएको छ ।

जनशक्ति र प्रयोग हुने औषधिको अभावमा आइसियु तत्कालै सञ्चालन हुनसक्ने अवस्था नभएको जोशीको भनाइ थियो । आइसियु सञ्चालन नहुँदा गत आवमा मात्रै एक सय ९२ जना बिरामीलाई जिल्ला अस्पतालबाट अन्यत्र पठाइएको उनले जानकारी दिए ।

“आइसियु सञ्चालनका लागि एनेस्थेजियोलोजिस्ट चिकित्सक र अन्य सहायक स्वास्थ्यकर्मी आवश्यक छ । चिकित्सक र स्वास्थ्यकर्मीको पर्याप्त दरबन्दी जिल्ला अस्पतालमा छैन । यहाँ कार्यरत एनेस्थेजियोलोजिस्ट चिकित्सक केही महिनामै आफ्नो अवधि पूरा गरी सरुवा हुन लागेका छन्”, जोशीले भने ।

दुर्गम क्षेत्रमा सेवा दिने स्वास्थ्यकर्मीलाई उचित सेवा सुविधाका साथै काम गर्ने वातावरण नहुनु, सुरक्षामा चुनौती र भौगोलिक कठिनाइलगायत कारण चाहेअनुसार स्वास्थ्यकर्मी राख्न नसकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बुद्धिबहादुर थापाले बताए ।

अस्पतालमा आइसियु सेवा सञ्चालन गर्नसके गम्भीर प्रकृतिका बिरामीलाई ठूलो राहत पुग्ने र रेफर गर्नुपर्ने अवस्थामा कमी आउने उनको भनाइ थियो । उपकरण भएर पनि सञ्चालन गर्न नसक्दा दुर्गम क्षेत्रका सेवाग्राही मर्कामा परेका उनले बताए ।

पाँचथर अस्पतालले नियमितरुपमा ताप्लेजुङ र तेह्रथुमका बिरामीलाई समेत सेवा दिँदै आएको छ ।  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेका अनुसार जिल्ला अस्पतालले थप ५० शय्याको स्वीकृति पाए पनि कार्यान्वयन हुन सकेको छैन । उहाँले अहिले ६० शय्यासम्म बिरामी राखेर सेवा दिइरहेको जानकारी दिए  ।

“आइसियुका लागि उपकरण तयार भए पनि तत्कालै सञ्चालन गर्न कठिन छ । माथिल्ला निकायमा स्वास्थ्यकर्मी पठाइदिन ताकेता गरिरहेका छौँ”, आङ्देम्बेले भने । जनशक्ति र प्रयोग हुने औषधिको उचित व्यवस्थापन हुन सके आइसियु सञ्चालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपी क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित

चितवन । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि

स्वास्थ्यमन्त्रीद्वारा ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत

काठमाडौं । एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र

झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी

झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् ।