बीमा कार्यक्रममा देखिएका कमीकमजोरी सुधार गर्दै लैजाने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी स्वास्थ्य संस्थामा १० प्रतिशत शय्या गरिब तथा विपन्न नागरिकलाई उपलब्ध गराउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री बस्नेतले गरिबीको परिचय पत्रको आधारमा १० प्रतिशत सेवा गरिब तथा विपन्नलाई दिनुपर्ने मापदण्ड रहेको बताएका छन् ।
मन्त्री बस्नेतले ठूला अस्पतालमा पाइने सेवा तथा अन्य विवरण हरेक अस्पतालले डिजिटल रुपमा सार्वजनिक गर्नुपर्ने तथा अस्पतालमा हुने टिकटलाई अनलाईनबाट दिने प्रावधानसमेत कडाइका लागू गर्न लागेको बताए ।
उनले भने,’कुन अस्पतालले के के सेवा उपलब्ध गराउन सक्ने हो‚ बेड कति छ भन्ने वियषलाई हरेक सरकारी अस्पताललाई आफ्नो अस्पतालको विवरण सार्वजनिक रुपमा राख्न निर्देशन दिएर लागू गरेका छौँ।’
उनले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नविकरण समेत नगरेका कारण ती अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न नसकिएको बताए ।