डेङ्गु सङ्क्रमणका कारण चितवनमा ६ जनाको मृत्यु
चितवन । चितवन जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताए ।
उनका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको थियो ।
यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।
कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको उनले बताए ।