मङ्कीपक्स सङ्क्रमण घट्ने सङ्केत
विश्व स्वास्थ्य सङ्गठनले युरोपमा मङ्कीपक्स सङ्क्रमणको घटना घट्दोक्रमा रहेको र सही दिशामा अघि बढिरहेको भन्दै यसले नियन्त्रणका निम्ति उत्साहजनक सङ्केतहरू देखिएको जनाएको छ ।
“फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, बेलायत र अन्य देशहरूमा प्रकोप सुस्त हुनसक्ने प्रमाणका रूपमा प्रारम्भिक सङ्केतहरू देखिएका छन् जुन उत्साहजनक छन्,“ युरोपका लागि डब्ल्युएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले पत्रकारहरूसँगको अन्तरक्रिया सो धारण राखेका छन् । “यो सही दिशामा गइरहेको छ,“ उनले थपे।
यद्यपि, “हाम्रो क्षेत्रमा उन्मूलन तर्फ अघि बढ्नको लागि हामीले तुरुन्तै हाम्रो प्रयासलाई दोब्बर बनाउनु पर्छ,“ उनले भने । रुस र मध्य एशियाका देशहरू समेत गरी डब्ल्यूएचओ युरोप क्षेत्रका ५३ देशहरू मध्ये ४३ देशहरूमा २२,००० भन्दा बढी मङ्कीपोक्सका घटनाहरू दर्ता भएका छन् जुन विश्वभरका केसहरूको एक तिहाइ भन्दा बढी हो ।
गत हप्ता डब्ल्युएचओले लगातार चार हप्ताको बृद्धि पछि विश्वव्यापी नयाँ केसहरूमा २१ प्रतिशत गिरावट आएको रिपोर्ट गर्यो । युरोपमा भाइरसको फैलावट नियन्त्रणका निम्ति डब्ल्यूएचओले देशहरूलाई निगरानी, लक्षित खोपहरू, सम्पर्क केसहरूको पहिचान र पुरुष समलिङ्गी समुदाय लगायतसँग नियन्त्रणका उपायहरू जारी राख्न आग्रह गरेको थियो ।
क्लुगेले पोर्चुगलको उदाहरण उदृत गर्दै पूर्ण खोप अभियानको अभावमा, व्यवहार परिवर्तन र समुदायहरूसँग संलग्नता मार्फत वृद्धिलाई रोक्न व्यवस्थित कार्ययोजना बनाउन आग्रह गरेका छन् ।