स्वास्थ्य ऐनको आधारमै स्वास्थ्य बिमा कार्यक्रम अघि बढ्छः स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा निजी कम्पनीको जिम्मा लगाउने कार्यक्रम लागू नगर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री खतिवडाले स्वास्थ्य बिमा नाफा कमाउनका लागि ल्याइएको योजना नभएकाले निजी कम्पनीलाई नदिइने जवाफ दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी वर्षको बजेट तथा योजनामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले स्वास्थ्य ऐनको आधारमै स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने बताए ।
उनले भने,‘अहिलेको स्वास्थ्य ऐनले जे भनेको छ त्यसैअनुसार जान्छु । अर्थमन्त्रीज्यूले जे भनेपनि म निजी कम्पनीलाई बिमा कार्यक्रम दिन्न ।’ मंसिर महिनासम्म आफू संसद्मा नै रहने भएकाले सांसदहरूलाई स्वास्थ्य बिमा निजीलाई दिन्छ कि भन्नेमा शंका नगर्न उनले आग्रह गरे ।