खजुरा क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित



बाँके । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ । अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत सेवा विस्तार गरेपछि चितवन र काठमाडौँबाट समेत बिरामी आउन थालेको अस्पतालका मेडिकल फिजिसिष्ट डा तीर्थराज अधिकारीले जानकारी दिए । उनले पश्चिम क्षेत्रका बिरामीले आफ्नै ठाउँमै सुलभ र गुणस्तरीय उपचार सेवा पाएको बताए । तीन करोड बढीको ब्राकीथेरापी मेसिन जडान गरिएपछि खजुरामा देशभरबाटै बिरामी आउन सुरु गरेका छन् ।

अन्तर्राष्ट्रिय मेडिकल फिजिक्स सर्टिफिकेसन बोर्डबाट रेडियसन अनकोलोजी फिजिसिष्टको मान्यता पाएका डा अधिकारी र रेडियसन अनकोलिष्ट डा मुकेश यादवले ब्राकीथेरापी सेवा दिइरहेका छन् । अस्पतालमा ब्राकीथेरापी मेसिन जडान गरेपछि पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया सुरु भएको छ ।

अस्पतालमा नयाँ प्रविधिको प्रयोग बढिरहेको अस्पतालका निर्देशक कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार अस्पतालमा डिपार्टमेन्टहरू थपिएका छन् । बिरामीको चाप बढ्दो छ, अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन् । वीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा जाने गरेका बिरामी खजुरा आउन थालेका छन् ।

ती दुई ठूला अस्पतालमा ब्राकीथेरापी मेसिन बिग्रिएपछि खजुरामा बिरामीको चाप बढेको चिकित्सकहरू बताउँछन् । देशभरमै यी तीनवटा सरकारी अस्पतालमा मात्रै ब्राकीथेरापी मेसिन छन् ।

ब्राकीथेरापी मेसिन प्रयोग गरेर पाठेघरको शल्यक्रिया सात दिनको फरकमा तीनपटक गरिन्छ । तीनपटक शल्यक्रिया गर्दा खजुरामा ४५ हजार खर्च लाग्छ । निजी अस्पतालमा यही सेवा लिदा एक लाख खर्च हुने गर्दछ । खजुरामै सेवा पाएपछि पश्चिम नेपालका जनताको समय, पैसा बचेकाले हरेक किसिमबाट लाभदायक भएको खजुरा क्यान्सर अस्पतालका संस्थापक अध्यक्ष एवं खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

कक्षपतिको नेतृत्वमा महायज्ञ गरेर सङ्कलन भएको रकमबाट क्यान्सर अस्पतालको निर्माण सुरु गरिएको हो । पछि यसलाई सरकारीकरण गरेर बाँकेका नेता पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा अस्पतालको नामाकरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार