आस्ट्राजेनेकाको कोभिड खोप सुरक्षित भएको प्रमाणित
कोभिडविरुद्धको अक्सफोर्ड–आस्ट्राजेनेका खोप अमेरिकी परीक्षणमा सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ । अमेरिका, चिले र पेरुका ३२ हजार भन्दा बढी स्वयंसेवकमा परीक्षण गरिएको थियो ।
परीक्षणमा खोप लक्षणयुक्त कोभिड रोक्न ७९ प्रतिशत प्रभावकारी र गम्भीर बिरामी हुन रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । अनि रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको छ ।
यो नतिजापछि हालै यस खोप कार्यक्रम रोकेका युरोपेली देशहरूको रगत जमेको घटनासँग खोपको सम्बन्धसम्बन्धी चिन्ता हट्ने विश्वास गरिएको छ । युरोपेली औषधि नियामक निकायले समीक्षा गरी सुरक्षित र प्रभावकारी रहेको बताएपछि केही देशहरूले स्थगित खोप कार्यक्रम पुनः सुरु गरिसकेका छन् ।
कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणको तथ्याङ्कले खोपलाई थप विश्वसनीय र ६५ वर्षभन्दा माथि उमेरका व्यक्तिमा प्रयोग गर्न सकिने देखाएको छ । केही देशहरूले सुरुमा तथ्याङ्क नभएका कारण ६५ वर्षभन्दा माथिका व्यक्तिलाई यो खोप दिएका थिएनन् । तर अमेरिकी परीक्षणमा २० प्रतिशत सहभागी ६५ वर्षमाथि व्यक्ति रहेका थिए जसलाई चार हप्ताको फरका दिइएको दुई मात्रा खोपले युवा वर्गलाई जस्तै सुरक्षा दिएको थियो ।
अन्य देशहरूमा लाखौँ व्यक्तिले खोप लगाइसकेका छन् यसर्थ परीक्षणमा सहभागीको सङ्ख्या एकदमै ठूलो होइन । तर यो नतिजा अमेरिकामा खोपले अनुमति प्राप्त गर्नका लागि आवश्यक थियो। त्यहाँ खोपले आगामी एक दुई महिनामा अनुमति प्राप्त गर्ने ठानिएको छ । अक्सफर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रू पोलर्डले भने, ‘यो नतिजाले नयाँ जनसङ्ख्यामा खोपको प्रभावकारिता सिद्ध गरेको छ र यो हाम्रो परीक्षणको नतिजासँग मिल्दोजुल्दो छ।’