गर्भनिरोधक चक्की र घातक असर



आफ्नो फोक्सोमा रगत जमेको र त्यसले ठूलो जोखिम पुर्याएको थाहा पाउँदा भ्यानेसा सेन्टेनो स्तब्ध भइन् । त्यसो हुनुको सम्भावित कारण थाहा पाउँदा त उनी झन् आश्चर्यचकित भइन् । सन् २०१९ मा बोस्टन निवासी महिलाले विश्वका अरू लाखौँ महिलाले जस्तै गर्भनिरोधक साधनका रूपमा चक्की प्रयोग गरेकी थिइन्। तर बहुसङ्ख्यक महिलाभन्दा फरक उनलाई उक्त औषधिको दुर्लभ नकारात्मक असर देखा पर्यो। त्यसबाट आफ्नो जीवन नै परिवर्तन भएको उनी बताउँछिन् । ‘म सिँढीमा हिडिँरहेकी थिएँ र अकस्मात् मैलै आफ्नो चिट्ठीपत्र राख्ने बाकस समाउन पुगेँ। किनभने मैले राम्ररी सास फेर्न सकिनँ।’ ‘त्यसरी सास फेर्न नसकेको अनुभव मैले कहिल्यै गरेकी थिइनँ। त्यसैले म सके जति सास भित्र तान्ने प्रयास गरिरहेकी थिएँ।’ सास फेर्न कठिन भए पनि भ्यानेसा काम गर्न गइन्। तर काम सकिनुअघि नै उनी चिकित्सककहाँ जान चाँडै निस्किन् ।

’मलाई हृदयाघात भए लागे जस्तो लाग्यो’
‘उनीहरूले मलाई सास फेर्न सजिलो होस् भनेर एउटा नेबुलाइजर दिए। मैले अलिकति सहज महसुस गरेँ। उनीहरूले थप जाँच गरे र (मेरो फोक्सोमा) छायाजस्तो केही देखिएको र सम्भवतः निमोनियाले त्यस्तो भएको हुनसक्ने बताए।’ तर दोस्रो दिन क्लिनिकमा उनलाई निमोनिया नभएको र थप परीक्षण गर्नुपर्ने बताइयो । एक महिनासम्म चिकित्सकलाई जचाउँदा समय प्राप्त नभएपछि उनको स्वास्थ्य थप बिग्रियो र उनले क्लिनिकको सल्लाहमा दम रोगीले प्रयोग गर्ने पम्प प्रयोग गर्न थालिन् । त्यसपछि एक दिन कपडा धुने क्रममा सिँढीमा ओहोरदोहोर गरिरहेकी उनलाई गाह्रो भयो । उनी सास फेर्न नसकेर भान्साको भुइँमा लडिन् । ‘मेरो शरीर, मेरो पेट, मेरो छाती र मेरो पाखुरा सबै दुखिरहेका थिए। मलाई हृदयाघात भइरहेको जस्तो लाग्यो।’ उनले चिकित्सकको कार्यालयमा सम्पर्क गरिन्।

उनलाई नर्सले तत्कालै अस्पताल आउन भनिन् । ‘भोलिपल्ट म चिकित्सकलाई भेट्न गएँ र मैले उनलाई मैले भोगेका सबै लक्षणहरू सुनाएँ। उनले मलाई जाँच गरिन् र सीटी स्क्यान गर्नुपर्ने बताइन्। त्यही भएर मलाई ठूलो अस्पतालमा पठाइयो।’ त्यसपछि आफ्नो शरीरलाई उपकरणहरूमा जोडिएको र द्रुत रूपमा घटना विकसित हुँदा आफू अलमलमा परेको उनी सम्झिन्छिन् । ‘त्यसपछि मेरो छातीको वरिपरि ठूलो आकारमा रगत जमेको पाइयो। त्यो फुट्न थालेको थियो र त्यसले मेरो फोक्सोको अधिकांश क्षेत्रमा अवरोध पुर्याउँदै थियो।’
दुई दिन अस्पतालमा बिताएपछि उनलाई घर जान दिइएको भए पनि उनले दुई हप्ता ओछ्यानमै बिताउनुपर्यो। उनका अनुसार चिकित्सकहरूले गर्भनिरोधक चक्कीका कारण नै रगत जमेको हुनसक्ने बताएका थिए । एक दिन पनि ढिला गरेर अस्पताल आएको भए उनको उपचार थप कठिन हुने चिकित्सकहरूले भनेको उनी सम्झिन्छिन् ।
गर्भनिरोधक औषधिले रगत जम्ने समस्या निम्त्याउने जोखिम कति?
यस्तो जोखिम बिरलै हुन्छ । वेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार एक वर्ष गर्भनिरोधक चक्की प्रयोग गर्ने प्रति १०,००० महिलामा पाँचदेखि १२ जनामा रगत जम्ने समस्या हुनसक्छ । तुलनात्मक रूपमा विभिन्न किसिमका परिवार नियोजनका उपाय प्रयोग नगर्ने महिलामा प्रत्येक वर्ष प्रति १०,००० जनामा दुई जनामा नसामा रगत जम्ने घटना देखा पर्छ । एनएचएसले कुनै पनि महिलालाई शङ्का भए चिकित्सकसँग परामर्श गर्न सुझाव दिएको छ ।

संसारभरि १५ करोडभन्दा बढी महिला गर्भनिरोधक चक्की प्रयोग गर्छन् र यो युरोप, अस्ट्रेलिया र न्यूजील्यान्डमा परिवार नियोजनको सबैभन्दा लोकप्रिय साधन हो । गर्भनिरोधक चक्की अफ्रिका, ल्याटिन अमेरिका र उत्तर अमेरिकामा दोस्रो बढी लोकप्रिय र एशियामा तेस्रो लोकप्रिय परिवार नियोजनको साधन हो । होर्मोनमा प्रभाव पार्ने परिवार नियोजनका अरू साधनजस्तै चक्कीले महिलाको मनस्थितिमा उतारचढाव निम्त्याउने र तौल थपघट गराउने आदि नकारात्मक असर पारिरहेको हुन्छ ।

तर प्रायः नदेखिने रगत जम्ने जस्ता समस्याले प्रयोगकर्ताको जीवन नै जोखिममा पार्न सक्छ । महिलामा रगत जम्ने जोखिम निम्त्याउन होर्मोन, उमेर, परिवारका सदस्यको स्वास्थ्यको इतिहास र तौल तथा धूमपानजस्ता जीवनशैलीसँग सम्बन्धित विषयले प्रभाव पार्छन् । लन्डनस्थित गाइज एन्ड सेन्ट टमस हस्पिटलका विशेषज्ञ तथा प्राध्यापक बेभर्ली हन्ट भन्छिन्–गर्भनिरोधक चक्कीले तिनको प्रकार हेरेर रगत जम्ने जोखिम चारदेखि आठ गुणाले बढाउँछन् । ‘तर गर्भावस्थामा जोखिम अझ बढी हुन्छ त्यही भएर गर्भ रहन दिनुभन्दा चक्की सेवन गर्नु उपयुक्त हुन्छ,’ उनले थपिन् । उक्त स्वास्थ्य समस्या देखिएको एक वर्षपछि भ्यानेसा अझै पनि साधारण अवस्थामा फर्कन सङ्घर्ष गरिरहेकी छन्।

मानसिक आघात र बोझ
जमेको रगत फटाउने उपचार गराउनुपरेकाले आफूले निकै सावधानी अपनाउनुपरेको सम्झिँदै त्यसबाट आफूलाई मानसिक तनाव भएको उनले बताइन् । ‘मैले भोगेको तनाव व्यक्त गर्नै गाह्रो छ। कपडा धुने क्रममा मलाई निक्कै गाह्रो हुन्छ। मैले आफूलाई म ठिक छु र म अब जोखिममा छैन भनेर सम्झाइरहनुपर्छ।’ महिलाहरूले चक्की प्रयोग गर्नु वा अरू परिवार नियोजनका साधनहरू प्रयोग गर्नका विभिन्न कारण भए पनि त्यसलाई आर्थिक पाटोसँग जोडेर हेरेको पाइँदैन । भ्यानेसा बोस्टन क्षेत्रमा करारमा काम गर्थिन्।

त्यही भएर उनले स्थायी जागिर नहुन्जेलसम्म इम्प्लान्टको प्रयोग गरिन् । आफूले तीन महिनासम्म जागिर नहुँदा इम्प्लान्ट गर्भ नियन्त्रणको उपयुक्त विधि भएको थाहा पाएको बताइन् । तर तौल बढ्नु त्यसको नकारात्मक प्रभाव भएको उनको अनुभव छ । उनले विज्ञापनहरूमा कुनै उत्पादनका कारण उत्पन्न हुनसक्ने नकारात्मक असर वा निम्तिन सक्ने मृत्युसम्मको चेतावनीलाई उपेक्षा गर्ने गरिएको उल्लेख गरिन् । ‘हामी आफूलाई कहिल्यै त्यस्तो पर्दैन भन्ने ठान्छौँ तर मेरो हकमा त्यो भयो। त्यसले मेरो संसारलाई नै हल्लायो र हल्लाइरहेको छ।’ ‘पुरुषले निर्माण गरेको विश्वमा बाँच्नुको अर्थ महिलाले परिवार नियोजनसहित सबै विषयको बोझ बोक्नुपर्छ।’

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

    काठमाडौँ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य