मुखले भन्ने स्थानीय, खाँदा पत्रु खाना खाने ?



डा. अरुणा उप्रेती ।
आज खाद्य दिवस अनेक थरिका छलफल भएरहेका छन् । स्थानीय खानालाई बढावा दिने भनेर आज स्थानीय हेपिएका खानाको बारेमा केही लेख्ने जमर्को गरें । ‘जात फाल्नु गहतको झोलमा’– हाम्रो समाजमा प्रचलित उखान हो । योे उखानले गहतचाहिँ केही काम नलाग्ने खानेकुरा रहेछ भन्ने ज्ञान दिएजस्तै लाग्छ । तर गहत प्रोटिन र सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छ । सुदूरपश्चिममा चाहिँ गहत धेरै प्रयोग हुन्छ । गहतानी भने स्वादिष्ट भोजन गहत र मासबाट बन्छ र भातसँग खाँदा बडो मीठो हन्छ । मेरी हजुरआमाले र मेरी आमाले बनाउने गहतानीको अगाडि अन्य पकवान फिका लाग्छ । जाडोको बेलामा मासको बटुको हालेर पकाएको पीरोपीरो गहतानीले त शरीरमा तातोसमेत गराउँछ भन्ने अनुभव अझै छ मलाई ।

कुनै युवतीको गालामा रहेको कालो तिलको वर्णन अनेक कविले आफ्नो कविता, कथा, गजल आदिमा धेरै पटक गरेका छन् तर वास्तविक हामीले खाने तिलचाहिँ स्वस्थ र सौन्दर्य बढाउन कति उपयुक्त हुन्छ भने कुरा छलफल नै हँुदैन । पूजाआजा, यज्ञमा चाहिँ भगवानलाई चढाउन तिलको प्रयोग गरिन्छ । तिलको लड्डु पनि खाइन्छ, आलुको अचार बनाउँदा वा भोगटे साँधेर खाँदा तिल हालेपछि त यिनको स्वादै ने दुई गुणा मीठो हुन्छ तर तिल क्याल्सियम, पोटासियम तत्वले भरिपूर्ण हुन्छ भनेर हामीले विचारै गरेनौँ । तिलको तेल छालालाई नरम बनाउन अति उपयुक्त हुन्छ । बरु तिलको तेलको सट्टामा बाहिरका महँगो महँगो क्रिम र लोसन लगाउन हामी तयार हुन्छौँ– घरको तिलको बेवास्ता गरेर । ‘नजिकको तीर्थ हेलाँ’ भनेको यही होला शायद ।

हात/खुट्टा दुख्ने मानिसले तिलको तेल तताएर मालिस गरे दुखाइमा आराम मिल्छ भन्ने कुरा बज्यैहरूले गरेको गफ सुनेरै फाइदा लिएकी हुँ । तिललाई बेलुका भिजाएर बिहान उठेर पानी मिसाएर पिउँदा पनि फाइदा हुन्छ भन्ने बूढापाकाको भनाइ छ ।
, “कस्तो फर्सी जस्तो भ्यात्त परेको नमीठो तरकारी’ भन्छौँ हामी प्याच्च । कतिजनाले त फर्सीसँग पनि कसरी भात खाने, केही मोठो नै हुँदैन भनेका पनि सुनेकी छु । तर यदि फर्सीको पौष्टिकताबारे थाहा पाउने हो भने यस्तो विचार बदलेर हामीले ‘वाह कस्तो फर्सी जस्तो पौष्टिक !’ भन्थ्यौं होला ।

फर्सीको प्रयोगले आँखा बलियो बनाउँछ भन्ने कुरा सबैलाई थाहा भए पनि तराईतिर धेरै बालबालिकालाई फर्सीको परिकार धेरै ख्वाइँदैन तर आँखाको समस्याबाट बच्न भिटामिन ‘ए’ चाहिँ दिइन्छ । तर घरका छानामा राखेका फर्सी बालबालिकालाई खान देऊ, यसले उनीहरूलाई स्वस्थ र सबल बनाउँछ भनेर न कसैले भन्छ । न त त्यसबारे छलफल नै हुन्छ । फर्सी वास्तवमा पौष्टिकताले भरिपूर्ण हुन्छ । यसमा भएको सूक्ष्म पोषक तत्वबारे धेरै अध्ययन/अनुसन्धान भएका छन् । अष्टे«लियामा फर्सीको सुप धेरै प्रयोग गरिन्छ । नेपालमा चाहिँ फर्सीको पनि सुप हुन्छ र भनेर नाक खुम्चाउने चलन छ ।

तर अब फर्सीलाई हेर्ने दृष्टिकोण बदलेर भिटामिनका चक्की, भिटामिन ए क्याप्सुल होइन कि फर्सीको सुप, फर्सीको तरकारी खाने गरे फाइदा हुन्छ भनेर विचार गर्ने बेला भएन र ?

आलु खाएर पेडाको धाक’ अर्को त्यस्तो उखान हो जो नेपाली जनजिब्रोमा धेरै पहिलेदेखि नै जरा गाडेर बसेको छ । यो उखानले आलुभन्दा पेडा खानु राम्रो भन्ने आशय जगाउँछ । तर वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने वास्तविकताचाहिँ योभन्दा ठीक उल्टो छ । आलु निकै पौष्टिक पदार्थ हो जबकि पेडा चिनीले बनाएको एकछिन खाँदा स्वाद लाग्ने तर दाँत र पेट बिगार्ने वस्तु हो । हामीकहाँ बिहान बेलुका भात खाएझैँ कति युरोपली मुलुकमा आलु प्रयोग गरिन्छ । बच्चालाई उसिनेर, भुटेर, आलुलाई पिसेर हाम्रो भाषामा हलुवा बनाएर दिइन्छ । आलुमा शक्ति दिने तत्वका साथै केहीमात्रामा म्याग्नेसियम लौह तत्व, रेशादार पदार्थ पनि हुन्छ ।

त्यसैले आलुको विषयमा अब घोत्लिएर सोच्ने बेला आएको छ । योचाहिँ राम्रो भोजन हो भन्ने विचारले आलुलाई प्रयोग गर्ने कि ?
अब त पेडा खाएर आलुको धाक भन्ने भनाइ अधि बढाउने हो भने आलुको महत्व जनमानसमा अझ घुस्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको

पुरुषभन्दा महिलाको आयु बढी भएको देख्दा अर्को अचम्म लाग्ने विषय खुलेको छ

डा. दीपेन्द्र रोकाया । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको

लोग्नेस्वास्नीका चारवटा शत्रु !

डा. गोविन्दशरण उपाध्याय । १. यो वर्ष नेपालमा सम्बन्ध विच्छेद गर्ने लोग्नेस्वास्नीको सङ्ख्या

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

  भरतपुर (चितवन) । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको