नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह नर्सिङ संघको आग्रह
काठमाडौं । नेपाल नर्सिङ संघले कोरोना महामारीका बेला जिम्मेवारीमा रहेका नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएको समयमा निरन्तर जिम्मेवारीमा रहेका नर्सहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधामा ध्यान दिन संघले आग्रह गरेको हो ।
संघकी अध्यक्ष मनकुमारी राईले अहिलेको अवस्थामा नर्सहरुले घर र अस्पतालको जिम्मेवारी सँगसँगै निर्वाह गरिरहनुपरेको भन्दै बढी जोखिम रहेकाले स्वास्थ्य सुरक्षातर्फ ध्यान दिन पनि आग्रह गरिन् ।
त्यस्तै उनले कोरोनामा निरन्तर खटिने नर्सहरुको सुविधा कटौती नगर्न पनि आग्रह गरिन् । उनले नर्सहरुको समस्याका बारेमा सरकारलाई जानकारी गराइसकेको र सरकारले उचित सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् । अहिले महामारीविरुद्ध लड्नुपर्ने प्रमुख कार्य भएकाले संक्रमण देखिएका क्षेत्रका नर्सहरुले उचित जिम्मेवारी निर्वाह गरिरहेको उनले बताएकी छन् ।