कोभिड डेडिकेटेड र ननकोभिड अस्पताल वर्गीकरण गर्न चिकित्सक संघको माग
काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमण भएका बिरामीहरुका लागि छुट्टै कोभिड डेडिकेटेड अस्पताल र अन्य बिरामीहरुका लागि ननकोभिड अस्पतालमा वर्गिकरण गरी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजलाई एक तिहाई र अन्य अस्पतालहरूलाई कम्तीमा २० प्रतिशत बेड छुट्याउने गरी गरेको निर्णय अविलम्ब सच्याउन माग गरेको हो ।
संघका महासचिव डा बद्री रिजालले बिहीबार विज्ञप्ति जारी गरी संघले हालको अवस्था आउनुभन्दा पहिलादेखि नै कोभिड डेडिकेटेड अस्पताल र अन्य बिरामीहरुका लागि ननकोभिड अस्पतालमा वर्गीकरण गरी उपचारको माग गर्दै आएको पनि ध्यानाकर्षण गराएका छन् ।
‘मन्त्रालयले हालै गरेको निर्णयका कारण देशभरका स्वास्थ्य संस्थाहरू संक्रमणको केन्द्र बन्न पुग्ने तथा प्रत्येक स्वास्थ्य संस्थाहरूमा कोभिड र ननकोभिडका बिरामीहरूको उपचार सँगै गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको जनशक्ति, आवश्यक सुरक्षाका सामग्रीहरुको समेत बढी खपत हुने र राज्यलाई थप आर्थिक भार समेत पर्न जाने’ संघको विज्ञप्तिमा उल्लेख छ ।
कोभिडभन्दा ननकोभिड अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै धेरै संक्रमित भएको देखिएकोले स्वास्थ्य संस्थामा उपचारमा संलग्न हुने सक्षम जनशक्तिकै अभाव भई भयावह स्थिति सिर्जना हुने चेतावनी संघले दिएको छ।