बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको खोप ’प्रभावकारी’
ब्रिटेनस्थित अक्सफर्ड यूनिभर्सिटीमा कोरोनाभाइरसविरुद्ध विकास गरिएको एउटा खोपको प्रारम्भिक परिणाम उत्साहजनक देखिएको उक्त अनुसन्धानमा संलग्न अमेरिकी तथा ब्रिटिश वैज्ञानिकहरूले बताएका छन् । उक्त अनुसन्धानमा छवटा बाँदरमा खोप दिएर परीक्षण गरिएको र त्यो कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएको थियो ।
अब मानिसमा उक्त खोपको परीक्षण हुने बताइएको छ । अनुसन्धानको प्रतिवेदनमा वैज्ञानिकहरूले ती बाँदरको शरीरमा ठूलो परिमाणमा कोरोनाभाइरस प्रवेश गराउनुअघि उक्त खोप लगाएका थिए ।
खोपका कारण बाँदरको शरीरमा १४ देखि २८ दिनभित्र एन्टीबडी बनेको र त्यसले कोरोनाभाइरसको प्रतिकार गरेको बताइएको छ । अहिले विश्वका विभिन्न देशमा विभिन्न किसिमका खोप विकास गर्ने र परीक्षण गर्ने काम भइरहेको छ ।