हालसम्म २२ हजार ६ सय ६४ जनाको पिसिआर बिधिबाट नमुना परीक्षण
काठमाडौं । नेपालमा हालसम्म २२ हजार ६६४ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो समय पिसिआर बिधिबाट गरिने परिक्षण दरलाई बढाइएको बताए ।
उनले र्यापिड बिधिबाट ६२ हजार ३२७ परीक्षण भएको बताए । त्यस्तै बिहीबारमात्रै तीन जनामा कोरोना संक्रमण देखिएको र उनीहरुको उपचार सुरु गरिसकेको उनले बताए ।
कोरोना संक्रमण देखिनेमा १९८ पुरुष र ४८ जना महिला छन् । त्यस्तै ३५ जना निको भएर घर फर्किएका प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय जना र २७२ जना आइसोलेशनमा छन् । हाल ३५९ जना रेड जोनमा रहेका मन्त्रालयले जनाएको छ ।