कोरोना संक्रमण रोकथामका लागि देशभर निःशुल्क होमियोप्याथिक औषधि
काठमाडौं । नेपाल राष्ट्रिय मारवाडी परिषद्ले कोरोना संक्रमणको रोकथाममा सहयोगी हुने होमियोप्याथिक औषधि निःशुल्क वितरण गर्ने भएको छ । परिषद्को सहयोगमा उत्पादन गरिने आर्सेनिकम एल्बम थर्टी सी लगायतका औषधि देशैभरिका २ लाख मानिसलाई वितरण गरिने भएको हो ।
आवश्यक परेको खण्डमा परिषद्ले एक करोडभन्दा बढी मानिसलाई वितरण गर्ने जनाइएको छ । हाललाई काठमाडौंस्थित मारवाडी सेवा समितिबाट वितरण गरिने यो औषधि पछि देशैभर उपलब्ध गराइने भएको छ ।
होमियोप्याथिक औषधि आन्तरिक शक्ति बढाउने खालको हुने र यसले कोरोना संक्रमणबाट बच्न सहयोग गर्ने विज्ञहरुको दाबी छ । कोरोनाको महामारी भएका बेला इटाली र इण्डियामा यस उपचार पद्धतिले सफलतापूर्वक काम गरेको सम्बद्ध स्वास्थ्यकर्मीको भनाइ छ ।
होमियोप्याथिक उपचारका लागि उत्पादित यी औषधि जुनसुकै उमेरका व्यक्तिले सेवन गर्न हुने र विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत सम्मतिमा प्रोटोकल बनाई वितरण गर्न लागिएको हो । यो औषधि शुरुमा कोरोना विरुद्धको अभियानमा खटिने जनशक्तिलाई वितरण गरिएको र अब सर्वसाधारणका लागि निशुल्क रुपमा वितरण गरिने परिषद्ले जनाएको छ ।