के हो कोरोना भाइरस ?



वैज्ञानिकहरूले चीनमा एक प्रकारको नयाँ भाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या आधिकारिक सङ्ख्याभन्दा बढी हुन सक्ने बताएका छन्। चिनियाँ आधिकारिक विवरण अनुसार अहिलेसम्म ४५ जना सो भाइरसबाट सङ्क्रमित भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ।

तर यूकेका विज्ञहरूका अनुसार त्यो सङ्ख्या १,७०० को नजिक हुन सक्छ। गत डिसेम्बर महिनामा वुहान शहरमा पहिलो पटक देखिएको नयाँ प्रकारको कोरोनाभाइरसबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ।

“एक हप्ताअघि भन्दा अहिले चाहिँ म अझ बढी चिन्तित छु,” वैज्ञानिक नील फर्गुसनले भने। ब्रिटिश सरकार र विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओलाई समेत सल्लाह दिने इम्पेरिअल कलेज लण्डनस्थित एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्शिअस एनालिसिसले त्यस्तो अनुमान गरेको हो।

सिङ्गापुर र हङ्‌कङले वुहानबाट आउने हवाई यात्रीहरूको स्वास्थ्य जाँच गर्न थालिसकेका छन्। अमेरिकी अधिकारीहरूले पनि सान फ्रान्सिस्को, लस एन्जलस र न्यूयोर्कस्थित तीनवटा प्रमुख विमानस्थलमा शुक्रवारदेखि त्यस्तै गर्न लागिएको घोषणा गरेका छन्।

यो समस्याको आकार सङ्क्रमित भएका मानिसहरू अन्य देशमा कति सङ्ख्यामा भेटिन्छ भन्नेबाट थाहा हुने हो। वुहानबाट समस्याको उत्पत्ति भए पनि थाइल्यान्डमा दुई जनामा र जापानमा एक जनामा सङ्क्रमण देखिएको छ।

“मलाई चिन्तित बनाएको त्यसैले हो,” प्राध्यापक फर्गुसनले भने। उनले थपेः “वुहानले अन्य देशमा तीनजना सङ्क्रमित पठाइसक्नु भनेको त्यहाँ भनिएको भन्दा निकै धेरै सङ्क्रमण भएको छ भन्ने हो।” ठ्याक्कै सङ्ख्या बनाउन सम्भव नदेखिए पनि भाइरसबाट हुने सङ्क्रमणको स्वरूप, स्थानीय जनसङ्ख्या र उडान तथ्याङ्कले एउटा धारणा बनाउनमा सघाउन सक्छ।

वुहान अन्तर्राष्ट्रिय विमानस्थलले एक करोड ९० लाख मानिसलाई सेवा दिन्छ। यद्यपि प्रतिदिन ३,४०० जनाले मात्रै त्यहाँबाट अन्तर्राष्ट्रिय यात्रा गर्छन्। सङ्क्रमित हुन सक्नेहरूको सङ्ख्या बारेको विस्तृत लेखाजोखा एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्नुअघि अनलाइनमा प्रकाशन गरिएको छ।

अहिले नै आत्तिनुपर्ने अवस्था नभए पनि एक हप्ताअघि भन्दा अहिले “आफू निकै चिन्तित बनेको” प्राध्यापक फर्गुसनले भने। मानिसबाट मानिसमा भाइरस सरेको घटना अहिलेसम्म नदेखिएको चिनियाँ अधिकारीहरूले बताएका छन्। बरु सङ्क्रमित जनावरबाट वुहानस्थित ‘सीफूड’ विक्री हुने एउटा बजारसम्म फैलिन पुगेको उनीहरूले उल्लेख गरेका छन्।

के हो कोरोनाभाइरस ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।

वुहानमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो। कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो।

पहिचान भएका थुप्रै अन्य प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि तिनले मानिसहरूलाई सङ्क्रमित बनाएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ६० वर्षभन्दा माथिका करिब १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सियाबाट प्रभावित

काठमाडौँ । शनिबार विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ

पोखरामा डेङ्गी सङ्क्रमण ६ गुणाले वृद्धि

गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण ६ गुणाले

सुनवलमा डेढ करोडको लागतमा बनेको पशु अस्पताल अलपत्र

नवलपरासी  । जिल्लाको सुनवल‐२ रजहवामा  एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु

अब अस्पताल समयमा चिकित्सकले बाहिर जान नपाउने

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु