म पोषणविद् होइन



डा. अरुणा उप्रेती ।

म पोषणविद् होइन

धेरै पत्रकार साथीले मलाई ‘पोषणविद्’ भन्ने पगरी भिराइदिएका छन् तर
म पोषणविद् होइन

मैले पोषण विज्ञानबारे औपचारिक ज्ञान लिएकी छैन त्यसैले विद् भन्न त मिल्दैन । तर, पोषणको ज्ञानचाहिँ मैले एक ठूलो विश्वविद्यालयबाट लिएकी हुँ । त्यो विश्वविद्यालय हो, मेरी हजुरआमाको भान्छा । मेरा गुरु हुन्, मेरा हजुरआमा र आमा ।

म त्यो भाग्यमानी मान्छेमा पर्छु, जो हजुरआमाको स्नेह र स्पर्श पाएर उनले बनाएको भोजन खाएर हुर्कें ।

मेरो घरमा एक रातो गाई थियो । आमाले गाईको दूध दुहुँदा म हेरिरहन्थें र बाल्टिनमा ताजा दूधको बास्ना र फिँज एकदम मन पर्थ्याे । राति भान्छामा गाईको दूध तताएर एक बटुको मलाई नदिएसम्म म भान्छाबाट टसमस हुँदैनथें, आमाले भन्नुभएको ।
मलाई हजुरआमाले पकाएको खीरकाे खुब याद आउँछ । खीर पाकेको दिनमा म खुसी भएको अझै याद छ । खीरमा हुने पौष्टिकताबारे धेरै पछि बुझें ।

हजुरआमाले लसुन र प्याज खानुहुन्थेन । उहाँले फलामको भाँडामा पकाएको मासको दाल र जिम्बुले भान्छा र मन नै हरर हुन्थ्यो । अहिले पनि मासको दालमा जिम्बु नभए कसरी स्वादिलो हुन्छ र भन्ने भान हुन्छ ।

हजुरआमाले रातो दालचाहि जिरा हालेर झान्नुहुन्थ्यो । त्यो स्वाद त जिब्रोमा गाडिएको छ । धेरै पछि आएर पो थाहा पाएकी यसरी दाल झान्नुको त वैज्ञानिक महत्त्व पो रहेछ । दालमा मेथी र जिरा हालेर झान्दा खेरी वास्नाले गर्दा खान मन लाग्ने त हुन्छ नै, त्यसरी झान्दा दालले पेटमा उत्पन्न गर्न सक्ने ग्याँसमा पनि कमी आउँछ र पेट ढुस्स नहुने रहेछ ।

७ वर्षमा विवाहित तथा निरक्षर हजुरआमालाई विभिन्न दलहनले पेटमा ग्याँस उत्पन्न गर्छ भन्ने थाहा पक्कै थिएन तर दाल झानेर खाँदा स्वास्थ्यलाई राम्रो गर्छ भन्ने ज्ञानचाहिँ थियो । यो ज्ञान पक्कै उहाँले आफ्नी सासू वा जेठानीबाट सिक्नुभएको थियो होला । उहाँहरुले पकाएको देख्नुभएको थियो । उहाँले व्यवहारमा लागू गर्नुभयो र त्यही मेरा लागि विश्वविद्यालय बन्न पुग्यो । दाल झानेर खानुपर्छ भन्ने व्यावहारिक ज्ञान पाएँ

१० वर्षको उमेरमा हजुरआमाले बनाएको खाजाले पछि मलाई सिकायो, घरमा बनेको खाजा स्वस्थ हुन्छ, सस्तो पनि हुन्छ । त्यही हो, विश्वविद्यालयको पोषणबारे पढाइ ।

पेट दुख्दा वा पखाला लाग्दा हजुरआमाले बनाएको मेथी जाउलो औषधि हुन्थ्यो । पोषणले भरिपूर्ण हुन्थ्यो ।

मुगको दालले स्वास्थलाई राम्रो गर्छ, लसुनले पखाला लागेको बेला ठीक गर्छ भन्ने ज्ञान थियो हजुरआमालाई । ‘मेथीको फाइदा’ गर्छ भन्ने परम्परागत ज्ञान थियो हजुरआमालाई तर मुगको दालमा प्रोटिन पनि हुन्छ, मेथीमा लौहतत्त्व हुन्छ भन्ने कुरा चाहिँ अहिलेको विज्ञानले सिद्ध गरेको छ ।

हजुरआमाको जाउलो औषधि पनि रहेछ भन्ने कुरा थाहा पाएपछि म भन्ने गर्छु, ‘हजुरआमाको व्यावहारिक ज्ञान नै मेरा लागि पोषणको विश्वविद्यालय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन कमजोर बन्दैछन् नेपालीका हाड ?

काठमाडौँ । ‘हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि

 सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन

– डा बच्चुकैलाश कैनी नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको

गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

स्वर्णिम वाग्लेका पक्षमा

नारायण गाउँले । डा. स्वर्णिम वाग्लेको अध्ययन, अनुभव र विज्ञता अर्थशास्त्रीय हो ।