काठमाडौं । अमेरिकी दूतावासले बाढी प्रभावित दुर्गम क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पुर्याउन सशस्त्र प्रहरी बल, नेपाललाई अमेरिकी निर्मित कार्गो ड्रोन हस्तान्तरण गरेको छ।
दूतावासका डेपुटी चिफ अफ मिसन स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकृत विल भनले सशस्त्र प्रहरी बल र सेभेन समिट ट्रेक्सका प्रतिनिधिलाई फ्रिफ्लाइ अल्टा एक्स जेन २ कार्गो ड्रोन हस्तान्तरण गरेका हुन् ।
सशस्त्र प्रहरीले कठिन भौगोलिक अवस्थाका कारण स्थलमार्गबाट पहुँच पुग्न नसकेका बाढी प्रभावित दुर्गम समुदायमा अत्यावश्यक सामग्री ढुवानीका लागि ड्रोन प्रयोग गर्ने जनाएको छ।
सेभेन समिट ट्रेक्सले यसअघि अमेरिकी दूतावासको ‘एसेन्ट समिट’ कार्यक्रमअन्तर्गत आमादब्लममा उक्त ड्रोनको परीक्षण गरेको थियो। परीक्षणका क्रममा उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिन्डर र पर्वतारोहण सामग्री एक क्याम्पबाट अर्को क्याम्पसम्म सफलतापूर्वक पुर्याइएको थियो।
सगरमाथा क्षेत्रमा गरिएको उक्त परीक्षणले नेपालको चुनौतीपूर्ण भूगोलमा अमेरिकी प्रविधिको प्रयोगको सम्भावना देखाएको दूतावासले जनाएको छ।
ड्रोन हस्तान्तरण नेपालमा बाढी प्रभावित क्षेत्रका लागि अमेरिकाले उपलब्ध गराउँदै आएको मानवीय, लजिस्टिक, फरेन्सिक, कन्सुलर तथा अन्य प्राविधिक सहयोगको एक हिस्सा भएको दूतावासले जनाएको छ।

प्रतिक्रिया