दीपकराज रेग्मी
अयं निजः परो वेति गणना लघुचेतसाम्।
उदारचरितानां तु वसुधैव कुटुम्बकम्॥
‘यो मेरो हो, त्यो पराइ हो भनेर विभाजन गर्ने सोच संकुचित मन भएका मानिसहरूको हुन्छ। उदार हृदय भएका व्यक्तिहरूका लागि सम्पूर्ण पृथ्वी नै एउटा परिवार हो।’
सुनसरीमा हालै भएको दुःखद घटनाले मलाई मेरो बाल्यकालको एक साथीको सम्झना दिलायो। ऊ मुस्लिम थियो, म परम्परागत ब्राह्मण परिवारमा जन्मिएको हिन्दू। तर हाम्रो मित्रतामा न ऊ मुस्लिम थियो, न म हिन्दू। हामी केवल साथी थियौँ।
हामी एउटै आँगनमा खेल्यौँ, एउटै विद्यालयमा पढ्यौँ, एउटै बाटो भएर विद्यालय गयौँ। एउटै रह (जयमुल) मा पौडी खेल्न सिक्यौँ। एकअर्काको घरमा निसङ्कोच ओहोरदोहोर गर्यौँ। चाडपर्वमा शुभकामना साट्यौँ, सुख–दुःखमा साथ दियौँ। उसको धर्मले मलाई कहिल्यै पराइ बनाएन, मेरो हिन्दू संस्कारले उसलाई कहिल्यै टाढा धकेलेन। हामीले आफूलाई पहिले हिन्दू वा मुस्लिम होइन, पहिले गाउँले, साथी र नेपाली ठान्यौँ। हाम्रो सम्बन्धमा धर्मको पर्खाल थिएन, विश्वास, आत्मीयता र मित्रताको पुल थियो। सायद यही नै नेपालको वास्तविक पहिचान थियो।
‘वसुधैव कुटुम्बकम्’ सम्पूर्ण पृथ्वी नै एउटा परिवार हो। यही सनातन हिन्दू दर्शनको मूल आत्मा हो। यही दर्शनलाई व्यवहारमा उतारेको भूमि नेपाल हो। त्यसैले धर्मका नाममा घृणा, हिंसा र रक्तपात नेपालको संस्कार होइन, नेपालको चरित्र होइन।
सुनसरीको घटनाले सम्पूर्ण नेपालीलाई दुःखी बनाएको छ। किनकि आजसम्म यो पवित्र भूमिमा धर्मका नाममा कुनै नेपालीले ज्यान गुमाउनुपरेको इतिहास अत्यन्त दुर्लभ छ। ढुङ्गाले बनेको मन्दिरका लागि होस् वा इँटा र माटोले बनेको मस्जिदका लागि मानिसको जीवनभन्दा माथि कुनै संरचना हुन सक्दैन। नेपालको इतिहास धर्मका नाममा रगत बगाउने होइन, धर्मलाई सम्मान गर्दै मानवताको रक्षा गर्ने इतिहास हो।
तराई-मधेशका केही क्षेत्रमा विगतमा धार्मिक शोभायात्रा, लाउडस्पीकर वा अन्य स्थानीय विषयलाई लिएर तनाव, झडप र कहिलेकाहीँ कर्फ्युसम्म लागेको इतिहास छ। तर अहिले देखिएको हिंसात्मक घटना सामान्य होइन। धर्मका नाममा भएको यो मृत्यु अत्यन्त दुःखद छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
यस घटनाले एउटा गम्भीर प्रश्न पनि उठाएको छ। पछिल्ला वर्षहरूमा समाजमा धार्मिक असहिष्णुता बढ्दै गएको अनुभूति किन हुन थालेको छ? यसको कारण, पृष्ठभूमि र जिम्मेवारीबारे गम्भीर राष्ट्रिय विमर्श आवश्यक छ। विगतका गल्ती दोहोर्याएर मात्र समाधान सम्भव छैन। सरकार आउँछन्–जान्छन्, राजनीतिक दल बदलिन्छन्, तर यदि समाजमा विभाजनको बीउ रोपियो भने त्यसको परिणाम पुस्तौँसम्म भोग्नुपर्ने हुन्छ। त्यसैले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सर्वोच्च प्राथमिकता दिनुपर्छ।
इतिहासले पनि हामीलाई गम्भीर शिक्षा दिएको छ। छिमेकी भारतमा २७ फेब्रुअरी २००२ मा गोधरामा साबरमती एक्सप्रेसमा भएको आगलागीमा ५९ जना कारसेवकको मृत्यु भयो। त्यसपछि गुजरातका विभिन्न स्थानमा भड्किएको साम्प्रदायिक हिंसामा आधिकारिक तथ्याङ्कअनुसार एक हजारभन्दा बढी मानिस मारिए, जसमध्ये अधिकांश मुस्लिम थिए भने सयौँ हिन्दूले पनि ज्यान गुमाए। हजारौँ घाइते भए, लाखौँ विस्थापित भए र असंख्य परिवारले आफ्नो घर, सम्पत्ति र भविष्य गुमाए। इतिहासले यस्ता घटनालाई कुनै धर्मको विजयका रूपमा होइन, सम्पूर्ण मानवताको पराजयका रूपमा सम्झिन्छ।
नेपाल पशुपतिनाथको भूमि हो। यही मुक्तिनाथको भूमि हो। यही कालीगण्डकी हो, जहाँ भगवान् विष्णुको साक्षात् स्वरूप मानिने शालिग्राम पाइन्छ। यही ऋषि-मुनिहरूको तपोभूमि हो। यही माता सीताको जन्मभूमि हो। यही लुम्बिनी हो, जहाँ भगवान् बुद्धले जन्म लिएर करुणा, शान्ति र अहिंसाको सन्देश संसारलाई दिए। यस्तो पवित्र भूमिमा धर्मका नाममा रगत बग्नु भनेको हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय आत्मामाथिको गम्भीर चोट हो।
नेपाल हिन्दू राज्य रहँदासमेत धार्मिक सहअस्तित्वको परम्परा बलियो थियो। राजालाई भगवान् विष्णुको अवतारका रूपमा सम्मान गरिन्थ्यो। तर उनकै दरबारअगाडि रहेको जामा मस्जिद सुरक्षित रूपमा सञ्चालनमा थियो। मस्जिदबाट गुञ्जिने अजानलाई पनि धार्मिक सहिष्णुताकै रूपमा स्वीकार गरिएको थियो। कुनै मुस्लिम नागरिकले आफ्नो धर्मका कारण असुरक्षित महसुस गर्नुपरेको इतिहास व्यापक रूपमा देखिँदैन। हिन्दू बहुसंख्यक समाजले आफ्नो धर्मको संरक्षण गर्दै अन्य धर्मको सम्मान र सुरक्षालाई पनि उत्तिकै महत्व दिएको थियो। यही सनातन धर्मको सहिष्णु र समावेशी स्वरूप हो।
नेपालमा हिन्दू, बौद्ध, मुस्लिम, किराँत, इसाई, सिख तथा विभिन्न जाति, भाषा र संस्कृतिका मानिसहरू शताब्दीयौँदेखि एउटै समाजमा सहअस्तित्वका साथ बाँचेका छन्। एउटै चौतारीमा बसे, एउटै खोलाको पानी पिए, एकअर्काको सुख–दुःखमा साथ दिए, चाडपर्वमा शुभकामना साटे। आज प्रश्न उठ्छ, हामीबीच अविश्वास र घृणाको भावना किन बढ्दै छ? यसको उत्तर इतिहासमा मात्र होइन, वर्तमानको व्यवहार र हाम्रो सामूहिक विवेकमा पनि खोज्नुपर्छ। घृणा जहाँबाट आए पनि त्यसलाई नेपाली समाजको संस्कार बन्न दिनु हुँदैन।
भारत र नेपालबीच धर्म, संस्कृति र सभ्यताका गहिरा सम्बन्ध छन्। तर दुवै देशको इतिहास, सामाजिक संरचना, राजनीतिक विकासक्रम र राष्ट्रिय परिस्थिति फरक छन्। त्यसैले छिमेकी मुलुकमा देखिएका धार्मिक तनाव वा हिंसाका प्रवृत्तिलाई नेपालमा दोहोरिन दिनु हाम्रो राष्ट्रिय हितमा छैन।
हिन्दू धर्म विशाल वटवृक्ष हो। त्यसको छहारीमा हिजो पनि विभिन्न धर्म र समुदायले सुरक्षित महसुस गरेका थिए, आज पनि गर्नुपर्छ र भोलि पनि गर्न सक्नुपर्छ। यही नेपालको गौरव हो। यही हाम्रो सभ्यता हो।
नेपाललाई घृणाले होइन, ‘वसुधैव कुटुम्बकम’ को भावनाले बचाउन सकिन्छ। धर्मले मानिसलाई जोडोस्, फुटाओस् होइन। हाम्रो आस्थाबाट रगत होइन, करुणा, सहिष्णुता र मानवताको प्रवाह होस्।
अस्तु।

प्रतिक्रिया