सगरमाथादेखि महायोगसम्म : सांस्कृतिक अर्थतन्त्रमार्फत समृद्ध नेपालको राष्ट्रिय दृष्टि


शैलेन्द्रकुमार श्रेष्ठ

विश्वले नेपाललाई प्रायः विश्वकै सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा चिन्छ। यो हाम्रो राष्ट्रिय गौरवको विषय हो। तर नेपालको वास्तविक परिचय केवल सगरमाथामा सीमित छैन। नेपाल प्रकृतिको अनुपम वरदान, जीवित संस्कृति, हजारौँ वर्ष पुरानो सभ्यता, विविधतायुक्त सामाजिक संरचना र आध्यात्मिक चेतनाको अद्वितीय संगम हो। यही कारण नेपाललाई देवभूमि, तपोभूमि, ज्ञानभूमि, योगभूमि र ध्यानभूमिका रूपमा सम्मान गरिन्छ। यहाँका हिमाल, नदी, वन, तीर्थस्थल, मठ-मन्दिर, गुम्बा, आश्रम, लोकसंस्कृति र जीवनदर्शनले मानव सभ्यताको विकासमा विशिष्ट योगदान पुर्‍याएका छन्।

आज विश्व विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) र डिजिटल रूपान्तरणको तीव्र गतिमा अघि बढिरहेको छ। यसले मानव जीवनलाई सहज बनाएको छ, तर अर्कोतर्फ मानसिक तनाव, एक्लोपन, हिंसा, नैतिक मूल्यको ह्रास, पारिवारिक विघटन, वातावरणीय संकट, उपभोक्तावाद र सामाजिक असन्तुलनजस्ता चुनौतीहरू पनि अभूतपूर्व रूपमा बढिरहेका छन्। भौतिक समृद्धिका बीच मानिसले आन्तरिक शान्ति, मानसिक सन्तुलन र जीवनको उद्देश्य खोजिरहेको छ। यही सन्दर्भमा नेपालसँग विश्वलाई दिन सक्ने एउटा अनुपम उपहार छ-प्रकृतिसँगको सहअस्तित्व, संस्कृतिप्रतिको सम्मान, आध्यात्मिक चेतनामा आधारित जीवनदर्शन र मानव केन्द्रित विकासको अवधारणा।

नेपालको भावी आर्थिक विकास केवल सडक, पुल, जलविद्युत्, विमानस्थल वा भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित हुनु हुँदैन। अब विकासको नयाँ आधार सांस्कृतिक अर्थतन्त्र (Cultural Economy) बन्नुपर्छ। सांस्कृतिक अर्थतन्त्र भन्नाले प्राकृतिक सम्पदा, सांस्कृतिक विरासत, धार्मिक आस्था, आध्यात्मिक परम्परा, कला, हस्तकला, भाषा, साहित्य, संगीत, स्थानीय ज्ञान, सिर्जनशीलता, सांस्कृतिक तथा सिर्जनात्मक उद्योग (Cultural and Creative Industries), जीवनशैली तथा परम्परागत सीपलाई संरक्षण गर्दै तिनलाई पर्यटन, उद्यमशीलता, रोजगारी, नवप्रवर्तन, निर्यात, लगानी र दिगो आर्थिक विकाससँग जोड्ने समग्र राष्ट्रिय दृष्टिकोण हो।

नेपालसँग यसका लागि संसारमै दुर्लभ र अनुपम सम्पदाहरू छन्। सगरमाथा, माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण, मकालु, कञ्चनजङ्घा, पोखराको फेवाताल, मुगुको राराताल, इलामका हरियाली चियाबगान, चितवन राष्ट्रिय निकुञ्ज, कोशीटप्पु, हिमालदेखि तराईसम्म फैलिएको जैविक विविधता, चार ऋतुको प्राकृतिक सौन्दर्य, काठमाडौं उपत्यकाका विश्वसम्पदा क्षेत्र, लुम्बिनी, प्राचीन दरबारहरू, विविध जाति, भाषा, संस्कृति, पर्व, जात्रा, लोककला, हस्तकला, लोकसंगीत तथा अतिथिलाई देवतासरह सम्मान गर्ने नेपाली संस्कार-यी सबै नेपालको सांस्कृतिक अर्थतन्त्रका अमूल्य आधार हुन्।

नेपाल भगवान गौतम बुद्धको जन्मभूमि हो। शान्ति, करुणा र अहिंसाको विश्वव्यापी सन्देश यही भूमिबाट प्रवाहित भएको हो। त्यसैगरी पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, वराहक्षेत्र, हलेसी महादेव, पाथिभरा, देवघाट, स्वर्गद्वारी, बडिमालिका, शैलेश्वरी, गोसाइँकुण्ड, किराँतेश्वर, रामजानकी, मानसरोवर प्रवेशद्वारका क्षेत्रहरू लगायतका धार्मिक तथा आध्यात्मिक केन्द्रहरूले नेपाललाई विश्वकै उत्कृष्ट आध्यात्मिक गन्तव्य बनाउने क्षमता राख्छन्। यी तीर्थस्थलहरू केवल धार्मिक आस्थाका केन्द्र मात्र होइनन्, मानव सभ्यतालाई शान्ति, सहिष्णुता, सेवा, करुणा, नैतिकता, सहअस्तित्व र आध्यात्मिक चेतनाको शिक्षा दिने जीवन्त विश्वविद्यालय हुन्।

नेपालको आध्यात्मिक परम्परामा महायोगले विशेष स्थान ओगटेको छ। महायोगले सेवा, भक्ति, आत्मबोध, अनुशासन, नैतिकता, मानव कल्याण र विश्वबन्धुत्वलाई जीवनको आधार मान्छ। यसको मूल सन्देश आत्मबोधबाट सुरु हुन्छ। जब मानिसले ‘म को हुँ? मेरो कर्तव्य के हो? मेरो जीवनको उद्देश्य के हो?’ भन्ने आधारभूत प्रश्नहरूको खोजी गर्न थाल्छ, त्यहीँबाट सेवा भाव जागृत हुन्छ। सेवाले विनम्रता जन्माउँछ, भक्तिले अन्तःकरणलाई शुद्ध बनाउँछ, र शुद्ध अन्तःकरणले आत्मज्ञान तथा जीवनको उच्चतम उद्देश्यतर्फ डोर्‍याउँछ। यही दर्शनले सत्य, इमान्दारिता, अनुशासन, करुणा, सहिष्णुता, सामाजिक उत्तरदायित्व, राष्ट्रसेवा र विश्वकल्याणको भावना विकास गर्छ।

यदि यस्ता नैतिक, आध्यात्मिक र मानवीय मूल्यहरूलाई विद्यालय, कलेज तथा विश्वविद्यालयको अध्ययन-अध्यापन, अनुसन्धान, चरित्र निर्माणमुखी शिक्षा र नेतृत्व विकाससँग वैज्ञानिक ढंगले जोड्न सकियो भने भविष्यमा इमान्दार, कर्तव्यनिष्ठ, नैतिकवान, जिम्मेवार र देशप्रेमी नागरिक निर्माणमा ठूलो योगदान पुग्नेछ। समृद्ध राष्ट्रको आधार केवल उच्च आर्थिक वृद्धिदर होइन; असल चरित्र, उच्च नैतिकता र उत्तरदायी नागरिक पनि हुन्।

नेपालले अब आफ्नो सम्पूर्ण प्राकृतिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक सम्पदालाई एउटै राष्ट्रिय दृष्टि (National Vision) अन्तर्गत एकीकृत गर्नुपर्छ। त्यसका लागि National Spiritual Tourism Circuit अर्थात् राष्ट्रिय आध्यात्मिक पर्यटन परिपथको अवधारणा विकास गर्न सकिन्छ। यसअन्तर्गत पूर्वको कौशिकी (कोशी) सभ्यता, पाथिभरा, हलेसी, वराहक्षेत्र, मध्य नेपालको बागमती–नारायणी सभ्यता, पशुपतिनाथ, जनकपुर, देवघाट, पश्चिम नेपालको लुम्बिनी, मुक्तिनाथ, राप्ती-भेरी क्षेत्र, स्वर्गद्वारी तथा सुदूरपश्चिमको कर्णाली-महाकाली सभ्यता, बडिमालिका, शैलेश्वरीलाई एउटै राष्ट्रिय आध्यात्मिक पर्यटन मार्गमा विकास गर्न सकिन्छ।

यो केवल धार्मिक तीर्थयात्राको मार्ग हुनेछैन। यसले प्रकृति, संस्कृति, योग, ध्यान, आयुर्वेद, वेलनेस पर्यटन, जैविक कृषि, स्थानीय हस्तकला, सांस्कृतिक तथा सिर्जनात्मक उद्योग, होटल, यातायात, होमस्टे, स्थानीय उत्पादन, अनुसन्धान, शिक्षा र डिजिटल पर्यटनलाई एउटै मूल्य शृङ्खलामा जोड्नेछ। यसबाट लाखौँ रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, ग्रामीण अर्थतन्त्रको पुनर्जीवन, महिला तथा युवाको उद्यमशीलता विकास, स्थानीय उत्पादनको बजार विस्तार र समग्र राष्ट्रिय समृद्धिमा नयाँ आयाम थपिनेछ।

आज कुनै राष्ट्रको प्रभाव केवल सैनिक शक्ति वा आर्थिक हैसियतले मात्र निर्धारण हुँदैन। संस्कृति, ज्ञान, शिक्षा, विज्ञान, पर्यटन, नैतिक नेतृत्व, मानवीय मूल्य र सभ्यताले पनि राष्ट्रको Soft Power निर्माण गर्छ। जापान आफ्नो संस्कृति, दक्षिण कोरिया आफ्नो सिर्जनात्मक उद्योग, भारत योग र आयुर्वेद, भुटान समग्र राष्ट्रिय खुशी (Gross National Happiness) र थाइल्यान्ड वेलनेस पर्यटनका कारण विश्वमा परिचित छन्। नेपालसँग हिमालय, बुद्ध, जीवित संस्कृति, बहुधार्मिक सहअस्तित्व, योग, ध्यान, महायोग, अतिथि सत्कार र प्राकृतिक विविधताको अनुपम शक्ति छ। यही सम्पदालाई Cultural Diplomacy र Spiritual Diplomacy मार्फत विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सकियो भने नेपालले विश्वमञ्चमा नयाँ उचाइ हासिल गर्न सक्छ।

नेपालले आफ्नो विकासको मार्ग आफैं परिभाषित गर्ने समय आएको छ । सगरमाथाले नेपाललाई विश्वको शिखरमा चिनाएको छ; अब प्रकृति, संस्कृति, बुद्ध, महायोग, योग, ध्यान, आध्यात्मिक चेतना र सांस्कृतिक अर्थतन्त्रले नेपालको आत्मालाई विश्वसामु चिनाउने समय आएको छ। भौतिक समृद्धिसँगै नैतिक, सांस्कृतिक र आध्यात्मिक समृद्धिलाई समान महत्व दिने विकास मोडल नै नेपालको मौलिक विकास मार्ग बन्न सक्छ।

यदि हामीले आफ्ना प्राकृतिक सम्पदा, सांस्कृतिक विरासत, धार्मिक तीर्थ, आध्यात्मिक ज्ञान, सिर्जनशीलता, स्थानीय जीवनशैली, परम्परागत सीप र आधुनिक नवप्रवर्तनलाई सन्तुलित रूपमा जोड्न सक्यौँ भने नेपालले दिगो समृद्धिको नयाँ अध्याय प्रारम्भ गर्न सक्छ। यही मार्गले पर्यटन, उद्यमशीलता, रोजगारी, ग्रामीण विकास, सांस्कृतिक संरक्षण, अन्तर्राष्ट्रिय प्रतिष्ठा, राष्ट्रिय गौरव र विश्वमै नेपालको विशिष्ट पहिचानलाई थप सुदृढ बनाउनेछ।

सगरमाथा नेपालको उचाइको प्रतीक हो, बुद्ध शान्तिको प्रतीक हुन्, र महायोग आत्मचेतना, सेवा तथा नैतिक जीवनको प्रतीक हो। यी तीनै शक्तिलाई राष्ट्रिय विकासको साझा दृष्टिमा एकीकृत गर्न सक्यौँ भने नेपाल केवल विश्वको सर्वोच्च शिखर भएको देश मात्र रहने छैन; विश्वको आध्यात्मिक राजधानी, सांस्कृतिक अर्थतन्त्रको अग्रणी राष्ट्र, वेलनेस पर्यटनको केन्द्र, शान्ति, सहअस्तित्व र मानव सभ्यताको प्रेरणास्थलका रूपमा पनि स्थापित हुनेछ। यही नेपालको भविष्य हो, यही समृद्ध, सभ्य, आत्मनिर्भर र विश्वप्रेरक नेपालको नयाँ राष्ट्रिय दृष्टि हो।

(सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रमुख श्रेष्ठ हिमालयन सिद्ध महायोग आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष, सांस्कृतिक सम्पत्ति संरक्षणका विज्ञ तथा करिब डेढ दशकदेखि आध्यात्मिक, सांस्कृतिक र सामाजिक रूपान्तरणका विविध अभियानमा सक्रिय समाजसेवी व्यक्तित्व हुन्।)