सम्पत्ति छानबिन आयोगको काममा सर्वोच्चको रोक


काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई तत्काल कुनै काम कारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगलाई काम रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

यसअघिको सर्वोच्चको आदेश विपरित आयोगले काम गर्न थालेपछि अधिवक्ता मणिराम उपाध्यायले त्यसविरुद्ध रिट दायर गरेका थिए । यसअघि असार २६ गते सर्वोच्च अदालतले सम्पत्ति विवरण बुझाउने विषयको अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न, बुझाइसकेको विवरणमाथि पनि छानबिन नगर्न र कसैलाई कारबाहीका लागि सिफारिस नगर्न आदेश दिएको थियो ।

तर सर्वोच्चबाट यस्तो आदेश आएपछि आयोगले आफ्ना कामकारबाही यथावत् राख्ने भन्दै सूचना जारी गरेको थियो ।