उत्तर कोरियाद्वारा नयाँ विध्वंसक जहाज ‘काङ कोन’ को ‘परीक्षण’


सियोल ।  उत्तर कोरियाले यो हप्ता पाँचहजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षण गरेको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ।

नेता किम जोङ उनले यो हप्ता पाँच हजार टनको विध्वंसक जहाज ‘काङ कोन’ परीक्षणका साथै क्रुज मिसाइल प्रक्षेपण र ‘विद्युतीय युद्धसामग्री’ समेतको निरिक्षण गरेको जानकारी राज्य सञ्चालित केसीएनएले आइतबार जनाएको हो।


यो नौसेना जहाज गत वर्ष उद्घाटन समारोहका क्रममा पल्टिएपछि मर्मत गरिएको थियो। कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार परीक्षण गत शुक्रबार गरिएको हो। यो परीक्षण अर्को पाँच हजार टनको टनको विध्वंसक जहाज ‘चोए ह्योन’ सैन्य सेवामा प्रवेश गरेको दुई हप्ता पनि नबित्दै भएको हो।

त्यस कमिसनिङ समारोहमा किमले आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र नयाँ १० हजार टनका युद्धपोत विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

कमिसनिङ भनेको योजना र डिजाइनदेखि वास्तविक निर्माण, कार्यान्वयन वा स्थापनासम्मका सबै सञ्चालन घटक जसरी काम गर्नुपर्ने हो, त्यसरी नै काम गरिरहेको छ भनी सुनिश्चित गर्ने विधिगत दृष्टिकोण हो। यसको उद्देश्य निरीक्षण, दस्तावेजीकरण र परियोजनाको प्रगति परियोजना मालिकको आवश्यकता र विशिष्टताहरूसँग बराबर छ कि छैन भनेर प्रमाणित गर्नु हो।

शुक्रबारको हतियार परीक्षणपछि किमले ‘विध्वंसक जहाजको परीक्षण प्रक्रिया जिम्मेवारीपूर्वक पूरा गर्न र दुई महिनाभित्र नौसेनालाई सुम्पन’ निर्देशन दिएको केसीएनएले जनाएको छ।

केसीएनएले सार्वजनिक गरेको फोटोमा पहेँलो टोपी लगाएका किम समुद्री टापुको एक अग्लो बिन्दुबाट हतियार परीक्षण हेर्दै गरेको देखिन्छ भने उनका दायाँबायाँमा सैनिक अधिकारी छन्।

अर्को फोटोमा काङ कोनले समुद्रमा मिसाइल प्रक्षेपण गर्दा धुवाँको मुस्लो उडिरहेको देखिन्छ। निरीक्षणपछि देशको ‘युद्ध निरोधक क्षमता’ लाई मजबुत बनाउनुपर्ने दोहोर्‍याउँदै किमले उत्तर कोरियाको ‘पूर्ण शक्ति’ प्रदर्शन गर्ने प्रतिबद्धता जनाएको केसीएनएले उल्लेख गरेको छ।

काङकोन गत वर्ष मे महिनामा दुर्घटनामा परेको थियो। किमको प्रत्यक्ष उपस्थितिमा पानीमा परीक्षण गर्दा आंशिक रूपमा पल्टिएर क्षति भएको थियो। किमले यसो हुनुमा ‘लापरवाही’ र ‘गैरजिम्मेवारी’ कारण भएको उल्लेख गर्दै दोषीहरूलाई कारबाही गर्न आदेश दिएका थिए।

नौसेना महत्वाकांक्षा

विश्लेषकहरूका अनुसार किमले दुई महिनाभित्र जहाज सुम्पने निर्देशन एउटा ठुलो राजनीतिक वर्षगाँठसँग जोडिएको हुन सक्छ।

‘उत्तर कोरियाको राजनीतिक पात्रो हेर्दा, सबैभन्दा सम्भव कुरा यो हो कि जहाजलाई देशको स्थापना भएको ७८ औं वर्षगाँठ अर्थात् सेप्टेम्बर ९ मा सेनालाई सुम्पिइने छ’, सियोलस्थित कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका हङ मिनले एएफपीसँग भनेका छन्।

एकपटक तैनाथ भएपछि यो युद्धपोत मुख्य रूपमा कोरियाली प्रायद्वीपको पूर्वी तटमा सञ्चालन हुने सम्भावना छ। ‘अहिलेलाई यसको फोकस कम जोखिमयुक्त, नजिकको समुद्री क्षेत्रमा सञ्चालन कौशलता बढाउनेमा रहनेछ’, उनले भनेका छन्।

सन् २०१९ मा हनोईमा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राज्य भएको बारम्बार बताएको छ।

उत्तर कोरिया दक्षिण कोरियासँग प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छ, किनकि सन् १९५० देखि सन् १९५३ को द्वन्द्व शान्ति सन्धि भएर नभई युद्धविराममा टुङ्गिएको थियो। दक्षिण कोरियाली नौसेनासँग पाँचहजार टनभन्दा ठुला १० भन्दा बढी जहाज छन् भने उत्तर कोरियासँग मात्र दुईवटा छन्।