–डा. गोविन्दशरण उपाध्याय ।
नेपाल सरकारले उपकुलपतिहरूको विज्ञापन गरेसँगै एउटा अर्को बहस चर्किएको छ ‘साइटेसन’ ! कसैले यसको पक्षमा वकालत गरिरहेका छन् भने केहीले केही डिफेन्सीभ मोडमा गएका छन् । तर मेरो मनमा भने फरक विचार चलिरहेको छ – के गुगल साईटेसनहरू नै आधुनिक विज्ञताको अन्तिम मानदण्ड हो ?
निश्चय नै यो नैतिकता, विज्ञता तथा अंग्रेजी भाषाको प्रभुताको बहस हो । गुगलले देखाउन सक्ने साइटेसन अंग्रेजी भाषा वा गुगलले प्राथमिकतामा राखेका भाषाहरूसंग मात्र सम्बन्धित छन् । यदि गुगल–साइटेसनलाई विज्ञता र ज्ञान विस्तारको अन्तिम मापदण्ड मान्ने हो भने स्थानीय भाषा वा गुगलले महत्व नदिएका भाषामा गरिएका अनुसन्धान र अनुसन्धाताको औचित्यहीन हुन् ? भन्ने प्रश्न उठाउनु पर्छ ।
जुनसुकै भाषाको ज्ञानहरू, त्यसका माध्यमबाट अनुसन्धानले महत्व प्राप्त गर्नु राम्रो कुरा हो । तर केवल एउटा भाषाका आधारमा कसैको विज्ञतालाई श्रेष्ठ ठान्नु वा फलानो भाषामा नलेखेको आधारमा विज्ञता खारेज गर्नु अनुचित सभ्यास र चेतना हो । भारतीय प्रधानमन्त्री मोदी, चिनिया राष्ट्रपति सी, रसियन राष्ट्रपति पुटिन लगायतका राष्ट्रप्रमुखहरूले अंग्रेजी नजानेर आफ्नो भाषा प्रयोग गरेको होइन । उनीहरूले राष्ट्रको नेतृत्व गर्दा आफ्नो भाषालाई प्राथमिकता दिएको हो ।
ब्रिटेन, अमेरिका र अस्ट्रेलियाजस्ता देशको आफ्नो मौलिक भाषा नै अंग्रेजी हो भने तेहाका राष्ट्रप्रमुख, विद्वानहरूले अंग्रेजी भाषा प्रयोग गर्नु स्वभाविक हो तर नेपालीहरूले अंग्रेजी भाषा बुझ्ने गुगलको साइटेसनलाई विज्ञताको मानदंड मान्नु त्रुटीपूर्ण वा “अंग्रेजी भाषा नै एकमात्र विज्ञानको भाषा हो“ भन्ने पूर्वाग्रहको आदर्श हुन सक्छ ।
मैले व्यक्तिगत रुपमा धेरै जर्मन, भारतीय, नेपाली तथा चिनिया विद्वानहरूलाई चिनेको छु, जसको विषयमा गुगलले एक शब्द पनि जानेको छैन तर विश्वका उम्दा विश्वविद्यालयहरूमा उहाँले लेखेका विचारहरूको पठनपाठन र चर्चा हुन्छ । मैले केही यस्ता हिन्दी, नेपाली र संस्कृत भाषाका अनुसंधनाताहरूलाई चिनेको छु जसले जानाजान गुगल वा यस्तै प्लेटफर्महरूको उपयोग गर्न नै चाहन्नन् ।
साइटेसनका लागि अंग्रेजी भाषा मात्र जानेर पुग्दैन, अनुसन्धानका कामहरू राख्ने विभिन्न साइट पनि चलाउन जानेको हुनुपर्छ । ल, नेपालका अंग्रेजी पुस्ताले त्यो गर्लान् तर अंग्रेजीकै विद्वान् भए पनि अंग्रेजी पुस्ताभित्र नपरेका प्राध्यापकहरूले के गर्ने ? दोस्रो कुरा, सबै मान्छे प्रबिधि मैन्त्री हुन्छन् भन्ने सकिन्न । यस्तो अवस्थामा ‘अनुसन्धानको अन्तराष्ट्रिय वैधता’ केवल साइटेसनले तय गर्छ भन्नु उचित हुँदैन । यस्तो पूर्वाग्रहले आफ्नो भाषाका माध्यमबाट अनुसन्धान गरेका र गर्न इच्छुक विद्वानहरूको अपमान हुन्छ ।
जसले अंग्रेजी भाषालाई माध्यम बनाएर काम गर्नुभएको छ, उहाँको प्रशंसा गर्नुपर्छ । काम काम नै हो त्यो चाहे जुन भाषामा गरिएको होस् तर गुगल वा साइटेसन नहुँदैमा उसको अनुसन्धान, विज्ञता तथा जेष्ठतामा प्रश्न गर्नु उचित हुँदैन । यस्तो पूर्वाग्रहले गम्भीर नैतिकताको प्रश्न उठ्छ । बरू, अन्य भाषामा गरिएका अनुसन्धानहरूमा पनि पुग्न सक्ने र गुगलले चिन्न नसकेका विद्वानहरूलाई त्यसमा पहुँच दिने प्रयत्न गरौँ ।
असलमा, प्रविधि हाम्रो शत्रु होइन तर प्रविधिको अन्धपूजा समस्या हो । गुगल स्कलर उपयोगी छ, तर गुगल नै ज्ञानको अन्तिम निर्णायक होइन । साइटेसन महत्त्वपूर्ण छ, तर साइटेसन नै विद्वत्ताको पूर्ण प्रमाण होइन । अंग्रेजी भाषा उपयोगी छ, तर अंग्रेजी नै ज्ञानको एकमात्र भाषा होइन ।
नेपालको विश्वविद्यालय सुधार्ने हो भने हामीले अन्तर्राष्ट्रिय मापदण्ड र रैथाने बौद्धिकता दुवैलाई सन्तुलित रूपमा स्वीकार गर्नुपर्छ । न त हामी विश्वबाट अलग बस्न सक्छौँ, न त आफ्नो भाषा, संस्कृति, दर्शन र मौलिक ज्ञानलाई त्यागेर मात्र विश्वस्तरमा पुग्न सक्छौँ ।

साँचो प्राज्ञिकता त्यही हो, जसले विश्वसँग संवाद गर्छ र आफ्नै माटोसँग पनि सम्बन्ध तोड्दैन । अङ्क, एल्गोरिदम र डिजिटल प्रोफाइलभन्दा पर एउटा विद्वानको जीवन, कर्म, चिन्तन, योगदान र समाजसँगको सम्बन्ध पनि हेर्नुपर्छ ।
प्राज्ञिक विज्ञतालाई केवल गुगलको खोजी बाकसमा कैद गर्न खोज्नु ज्ञानको अपमान हो । प्रविधिलाई साधन बनाऔँ, साध्य होइन । साइटेसनलाई संकेतक मानौँ, अन्तिम सत्य होइन । विज्ञहरूको विज्ञतालाई बजार, भाषा–उपनिवेश र डिजिटल असमानताको बन्दी होइन, मौलिकता, विवेक, अनुसन्धान र सामाजिक उत्तरदायित्वको केन्द्र बनाऔँ ।
मैले नेपाली भाषामा जेपीटी चाटबोटलाई सोधेको प्रश्न र त्यसको जवाफ जस्ताको त्स्तै पोस्ट गरेको छु । हेरौं, पढौं र मनन गरौँ ।

प्रतिक्रिया