दर्शनशास्त्र र अर्थपूर्ण जीवन


डा. गोविन्दशरण उपाध्याय ।

आजको युवापुस्ता अभूतपूर्व सुविधाहरूको बीचमा बाँचेको छ, तर यही सुविधाको बीचमा उसको विवेक पहिलेभन्दा बढी सङ्कटग्रस्त देखिन्छ। हातमा यन्त्र छ, आँखाअघि सूचना छ, संसारको हरेक कुनासँग तत्काल सम्पर्क छ, तर आफ्नै अन्तरात्मासँगको सम्पर्क क्रमशः कमजोर बन्दै गएको छ। मानिस बाहिरबाट धेरै जोडिएको छ, तर भित्रबाट एक्लो छ। ऊ संसारसँग अनलाइन छ, तर आफ्नै जीवनको अर्थसँग अफलाइन बन्दै गएको छ। यही हाम्रो समयको सबैभन्दा ठूलो बौद्धिक र मानवीय विडम्बना हो।

यान्त्रिकताले मानिसलाई सुविधा दिएको छ, गति दिएको छ, उत्पादन दिएको छ, आराम दिएको छ; तर यान्त्रिकताले जीवनको उद्देश्य दिन सक्दैन। मेसिनले गणना गर्न सक्छ, तर करुणा गर्न सक्दैन। यन्त्रले उत्तर दिन सक्छ, तर अनुभूति गर्न सक्दैन। यन्त्रले स्मृति भण्डारण गर्न सक्छ, तर पुस्तान्तरणको पीडा, प्रेम, उत्तरदायित्व र आशा बुझ्न सक्दैन। यन्त्रका लागि बाबुआमाको अर्थ हुँदैन, सन्तानको चिन्ता हुँदैन, कुलपरम्पराको दायित्व हुँदैन, संस्कृतिको आत्मा हुँदैन। यन्त्रमा दक्षता हुन्छ, तर धर्मबोध हुँदैन। यसैले मानिस यन्त्रजस्तो भएर बाँच्न सक्दैन, र बाँच्न मिल्दैन पनि।

मान्छे केवल जैविक शरीर होइन। यदि मान्छे केवल शरीर मात्र हुन्थ्यो भने खानु, सुत्नु, मैथुन गर्नु र भयबाट जोगिनु नै उसको सम्पूर्ण जीवन हुन्थ्यो। तर वैदिक ऋषिहरूले मानिसलाई पशुबाट अलग पार्ने वस्तु बुद्धि, विवेक, स्मृति, मूल्यबोध र आत्मजिज्ञासा हो भनेर सम्झाए। मनुष्यत्वको सार यही हो कि ऊ आफ्नै जीवनका विषयमा प्रश्न गर्न सक्छ : म को हुँ? म किन जन्मिएँ? मेरो जीवनको प्रयोजन के हो? म केवल भोग्न आएको हुँ कि केही सिर्जना गर्न? म केवल आफ्नै लागि बाँच्ने प्राणी हुँ कि जगत्, समाज, परिवार र भावी पुस्ताप्रति पनि मेरो केही ऋण छ?

अर्थपूर्ण जीवन यिनै प्रश्नहरूको इमानदार खोजबाट प्रारम्भ हुन्छ। जीवनको अर्थ कुनै बजारमा किन्न पाइने वस्तु होइन। यो न त केवल धनले पाइन्छ, न पदले, न प्रसिद्धिले। जीवनको अर्थ मानिसको अनुभव, भावना, सम्बन्ध, कर्तव्य, स्वार्थ र परार्थको सूक्ष्म समन्वयमा निर्मित हुन्छ। अनुभवले मानिसलाई परिपक्व बनाउँछ, भावनाले उसलाई मानवीय बनाउँछ, सम्बन्धले उसलाई सामाजिक बनाउँछ, र स्वार्थ–परार्थको विवेकले उसलाई नैतिक बनाउँछ। यी चार कुराको अर्थ नबुझ्ने मानिसले बाहिरबाट सफल देखिए पनि भित्रबाट रिक्त जीवन बाँच्न सक्छ।

अर्थहीन जीवन र मृत्युबीचको भिन्नता धेरै ठूलो नहुन सक्छ। शरीर चलिरहेको छ भनेर मात्र जीवन सार्थक हुँदैन। शरीर बोकेर हिँड्नु एउटा कुरा हो, शरीरलाई साधन बनाएर जीवनलाई अर्थपूर्ण बनाउनु अर्को कुरा हो। शरीर प्रकृतिले दिएको छ, तर जीवनको अर्थ मानिस आफैले सिर्जना गर्नुपर्छ। जन्म स्वाभाविक हो, तर जीवनको महत्ता स्वचेतन प्रयत्नको फल हो।
अधिकमासको पुराणकथा यस सन्दर्भमा अत्यन्त मार्मिक छ। कथा अनुसार मलमास जन्मिन्छ, तर कसैले उसको सम्मान गर्दैन। अरू महिनाहरू धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा प्रतिष्ठित छन् तर मलमास उपेक्षित छ। ऊ आफैँलाई सोध्छ : म को हुँ? मेरो प्रयोजन के हो? मेरो अस्तित्वको अर्थ के हो? जब कुनै अस्तित्वलाई आफ्नो महत्त्व अनुभव हुँदैन, तब ऊ जीवनबाट विरक्त हुन थाल्छ। मलमास पनि यही पीडाबाट गुज्रिन्छ। ऊ भगवान् विष्णुसँग पुगेर भन्छः ‘मलाई कसैले महत्त्व दिँदैन। मेरो जीवनको उद्देश्य के हो, म बुझ्न सकिरहेको छैन। यदि मेरो जीवनमा अर्थ छैन भने म बाँच्न चाहन्न।’

यो कथा केवल महिनाको कथा होइन । यो प्रत्येक अर्थ–सङ्कटग्रस्त मानिसको कथा हो। आजका धेरै युवा यही मलमासजस्तो मनोदशाबाट गुज्रिरहेका छन्। उनीहरू सोधिरहेका छन्मे : रो पढाइको अर्थ के हो? मेरो पेशाको अर्थ के हो? मेरो सम्बन्धको अर्थ के हो? मेरो देश, संस्कृति र इतिहाससँग मेरो सम्बन्ध के हो? म किन बाँचिरहेको छु? यदि जीवन केवल प्रतिस्पर्धा, प्रदर्शन, उपभोग र थकानको नाम हो भने यसको अन्तिम मूल्य के हो?

कथामा विष्णुले मलमासलाई गोलोकमा श्रीकृष्णसमक्ष पुर्याउँछन्। श्रीकृष्णले उसलाई अवमूल्यन होइन, प्रतिष्ठा दिनुहुन्छ। उहाँ भन्नुहुन्छ : ‘तिमी महिनाहरूमध्ये विशेष हुनेछौ। तिम्रो समयमा गरिएका सत्कर्महरू विशेष फलदायी हुनेछन्।’ यही स्वीकार, यही सम्मान, यही अर्थबोधले मलमासको आत्महत्या–बुद्धि हराउँछ। उसले बुझ्छ : मेरो अस्तित्व निरर्थक होइन। म पनि विराट् व्यवस्थाको आवश्यक अंश हुँ।

मानिसको जीवनमा पनि यही हुन्छ। जब उसलाई आफ्नो अर्थ भेटिन्छ, ऊ उठ्छ। जब उसले आफ्नो प्रयोजन बुझ्छ, ऊ निराशाको अन्धकारबाट बाहिर आउँछ। जब उसले आफ्नो कर्तव्य, क्षमता र सम्भावना चिन्छ, जीवनमा ऊर्जा आउँछ। यसैले उपनिषद्ले उद्घोष गर्छ-‘उत्तिष्ठत, जाग्रत’-उठ, जाग, श्रेष्ठ ज्ञान प्राप्त गर। यो केवल आध्यात्मिक आह्वान होइन । यो अस्तित्वगत चेतावनी पनि हो। नउठेको जीवन जड हुन्छ, नजागेको जीवन दिशाहीन हुन्छ, नचिन्तन गरेको जीवन अरूको नक्कलमा समाप्त हुन्छ।

वैदिक परम्परामा जीवनको अर्थ केवल भोगमा खोजिएको छैन। यहाँ जीवनलाई ऋत, धर्म, यज्ञ, तप, सेवा, ज्ञान र आत्मबोधसँग जोडिएको छ। ऋषिकाहरूले पनि यही चेतना व्यक्त गरेका छन्। रोमाशा ब्रह्मवादिनीले आफ्नो अस्तित्वको अवमूल्यन अस्वीकार गर्दै आफ्नो महत्त्वको घोषणा गरिन्। उनको स्वरमा आत्मसम्मान छ, जागरण छ, र जीवनको अर्थबोध छ। वैदिक दृष्टिले कुनै पनि प्राणी तुच्छ छैन, कुनै पनि अस्तित्व निरर्थक छैन, कुनै पनि जीवन केवल संयोग मात्र होइन। प्रत्येक जीवनमा कुनै न कुनै धर्म छ, सम्भावना छ, प्रयोजन छ।

उपनिषद्का संवादहरू, पुराणका कथाहरू, महाभारतका चरित्रहरू र गीताको उपदेश सबैले मानिसलाई केवल जीवित रहन होइन, जागृत भएर बाँच्न प्रेरित गर्छन्। अर्जुन युद्धभूमिमा उभिएका छन्, तर उनको वास्तविक सङ्कट बाहिरी युद्ध होइन, भित्री अर्थ–सङ्कट हो। उनलाई प्रश्न छ-युद्ध किन? धर्म के? कर्तव्य के? सम्बन्ध र न्यायमध्ये कुन ठूलो? श्रीकृष्णले अर्जुनलाई केवल युद्ध गर्न प्रेरित गर्नुभएको होइन, उहाँले अर्जुनलाई स्वधर्मको अर्थ बुझाउनुभएको हो। गीताको केन्द्रीय शिक्षा यही हो : आफ्नो धर्म, आफ्नो कर्तव्य, आफ्नो योग्यता र आफ्नो अन्तःकरणसँग साक्षात्कार नगरी मानिस अर्थपूर्ण जीवन बाँच्न सक्दैन।

यदि हामी पश्चिमी दर्शनतिर हेरौँ भने पनि यही खोज निरन्तर चलिरहेको देखिन्छ। सुकरातले विचारहीन जीवनलाई जीवन भन्न योग्य मानेनन्। उनका लागि आत्मपरीक्षण नै मनुष्यत्वको मूल थियो। प्लेटोले सत्य, शुभ र सुन्दरको लोकमा जीवनको उच्च अर्थ खोजे। अरस्तुले मनुष्यको परम लक्ष्य ‘युडेमोनिया’ अर्थात् सद्गुणयुक्त उत्कृष्ट जीवन हो भने। देकार्तले प्रश्न गर्ने चेतनालाई अस्तित्वको आधार माने। कान्टले नैतिक कर्तव्य र सदिच्छालाई जीवनको सर्वोत्तम मर्यादा ठाने। नित्सेले शक्तिसंकल्पमा जीवनको सृजनशीलता देखे। माक्र्सले आर्थिक संरचना, श्रम र न्यायपूर्ण वितरणमा मानव–मुक्तिको मार्ग खोजे।

यी सबै दृष्टिकोणहरू भिन्न छन्, तर तिनको साझा चिन्ता एउटै छ : मानिस कसरी अर्थपूर्ण बाँच्ने? केवल खानु, कमाउनु, खर्च गर्नु र मर्नु जीवन होइन। जीवनमा विचार चाहिन्छ, मूल्य चाहिन्छ, दिशा चाहिन्छ, उत्तरदायित्व चाहिन्छ। दर्शनशास्त्र यही खोजको नाम हो। दर्शन कुनै निष्प्राण पुस्तकालयीय विषय होइन। दर्शन मानव–बौद्धिकताको जीवित इतिहास हो। मानिसले आफूलाई, जगतलाई, ईश्वरलाई, समाजलाई, नैतिकतालाई, मृत्यु र अमरत्वलाई, दुःख र मुक्ति लाई कसरी बुझ्दै आयो भन्ने विराट् यात्रा दर्शनशास्त्र हो।

नेपाली चिन्तनपरम्परामा पनि जीवनको अर्थबोधको सुन्दर विकास भएको छ। बालकृष्ण समले मानवजीवनलाई गहिरो संवेदना र विचारको आँखाले हेरे। जयपृथ्वीबहादुर सिंहले मानवताको सेवालाई जीवनको श्रेष्ठ उद्देश्य माने। उनीहरूका लागि जीवनको महत्त्व केवल निजी सुखमा सीमित थिएन, समाज, शिक्षा, करुणा र मानवोन्नतिसँग जोडिएको थियो। यही नै पूर्वीय मनको विशेषता हो : व्यक्तिलाई समाजबाट, समाजलाई धर्मबाट, धर्मलाई ऋतबाट, र ऋतलाई ब्रह्माण्डीय व्यवस्थाबाट अलग गरेर नहेर्ने दृष्टि।

दर्शनशास्त्रले मानिसलाई धेरै महत्त्वपूर्ण प्रश्नहरू सोध्न सिकाउँछ। परमसत्य के हो? आत्मा छ कि छैन? ईश्वरको स्वरूप के हो? स्वर्ग र नर्क प्रतीक हुन् कि यथार्थ? पाप र पुण्यको आधार के हो? शुभ र अशुभ कसरी छुट्याउने? उचित र अनुचितको मापदण्ड के हो? स्वार्थ र परमार्थबीच सन्तुलन कसरी कायम गर्ने? अन्धविश्वास र आस्थाबीच भिन्नता के हो? विज्ञान र धर्म विरोधी हुन् कि पूरक? यी प्रश्नहरू केवल बौद्धिक खेल होइनन्, यी प्रश्नहरूले जीवनको दिशा तय गर्छन्।

आजको युवापुस्तालाई दर्शनशास्त्र अझ बढी आवश्यक छ, किनभने ऊ सूचनाको बाढीमा बाँचिरहेको छ तर ज्ञानको अभावमा छ। सूचना छिटो आउँछ, तर ज्ञान परिपक्व हुन्छ। सूचना बाहिरबाट आउँछ, तर विवेक भित्रबाट जाग्छ। सूचना तथ्य दिन्छ, दर्शन अर्थ दिन्छ। विज्ञानले ‘कसरी’ को उत्तर दिन्छ, दर्शनले ‘किन’ को खोज गर्छ। विज्ञान आवश्यक छ, तर विज्ञानलाई पनि मूल्य चाहिन्छ। मूल्यविहीन विज्ञान विनाशकारी हुन सक्छ, र तर्कविहीन संस्कृति जड हुन सक्छ। यसैले दर्शनले विज्ञान र संस्कृतिलाई संवादमा राख्छ।

आधुनिक मनोविज्ञानले पनि अर्थपूर्ण जीवनको अभावलाई गम्भीर मानसिक सङ्कटसँग जोडेको छ। निरर्थकताबोध, एक्लोपन, उदासीनता, आत्महीनता र आत्मविनाशक प्रवृत्ति केवल जैविक समस्या होइनन् । धेरै पटक ती अस्तित्वगत समस्या हुन्। मानिसले जब आफूलाई अनावश्यक, अप्रेमित, उद्देश्यहीन र असफल ठान्छ, तब जीवनको ज्योति क्षीण हुन थाल्छ। यस्तो समयमा औषधि मात्र पर्याप्त हुँदैन । अर्थबोध, सम्बन्ध, स्वीकार, कर्तव्य र आशा पनि चाहिन्छ। दर्शनशास्त्र यही स्थानमा मनोविज्ञानको सहयात्री बन्छ।

दर्शनशास्त्रले भन्छ : जीवनप्रति सकारात्मक रहो, तर अन्धसकारात्मक होइन। प्रश्न गर, तर विध्वंसक संशयमा नडुब। आस्था राख, तर अन्धविश्वासमा नफस। परम्परालाई सम्मान गर, तर जडतामा नबस। आधुनिकता अपनाऊ, तर आत्मविस्मृत नबन। आफ्ना अनुभवहरू साट, अरूका अनुभवहरू सुन, र समालोचनात्मक दृष्टिलाई जीवनको प्रस्थानविन्दु बनाऊ। अतिवादबाट सचेत रहो। मानिसको सत्य केही सार्वभौम हुन्छ, तर जीवनको अर्थ खोज्ने यात्रा प्रत्येक व्यक्तिले आफैँ गर्नुपर्छ।

अन्ततः दर्शनशास्त्रले मानिसलाई तर्कपूर्ण तर सदाचारयुक्त जीवन बाँच्न प्रेरित गर्छ। अर्थपूर्ण जीवनको अर्थ सबैका लागि एउटै नहुन सक्छ। कसैले सिर्जनामा अर्थ भेट्छ, कसैले सेवामा, कसैले ज्ञानमा, कसैले परिवारमा, कसैले राष्ट्रकार्यमा, कसैले साधनामा। तर स्वार्थमात्रमा बन्द भएको जीवन अन्ततः साँघुरो हुन्छ। विवेकी मानिसले आफ्नो सुखलाई अरूको सुखसँग, आफ्नो प्रगतिको अर्थलाई समाजको प्रगतिसँग, र आफ्नो जीवनलाई व्यापक मानवहितसँग जोड्छ। यही जोडाइमा जीवनको गहिरो अर्थ जन्मिन्छ।

मानिस पशु होइन, यन्त्र होइन, उपभोगको वस्तु होइन। मानिस प्रश्न गर्ने, प्रेम गर्ने, सम्झने, पछुताउने, सुधार्ने, सिर्जना गर्ने र आत्मोन्नतिको बाटो खोज्ने चेतनशील सत्ता हो। जबसम्म मानिसले आफ्नो जीवनको अर्थ खोजिरहन्छ, तबसम्म मानवता जीवित रहन्छ। दर्शनशास्त्र यही खोजको दीप हो। यसले हामीलाई सम्झाउँछ : जीवन केवल बिताउने वस्तु होइन, बुझ्ने, गढ्ने, साध्ने र अर्थपूर्ण बनाउने अवसर हो।