नेतृत्वप्रति असन्तुष्टि जनाउँदै महामन्त्री राणासहित राप्रपाका १८३ जना नेताद्वारा पार्टी परित्यागको घोषणा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन हुने भएको छ । महामन्त्री धवलशमशेर राणाले नयाँ अभियान सुरु गर्ने घोषणा गरेसँगै बिहीबार १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

बिहीबार संयुक्त वक्तव्य जारी गरी महामन्त्री राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवम् कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । विचलन, विरोधाभाष एवं भनाइ र गराइ बीचको अनमेलले जनताबाट दण्डित भएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले नेतृत्वले निरंकुश शैलीमा कारवाही गरिरएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘राजसंस्था पूनस्र्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भए जबकि संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटै पनि प्रस्ताव दर्ता गरिएन ।’