इरान युद्धका कारण कतारबाट मात्रै २१ हजार नेपाली स्वदेश फिर्ता


काठमाडौँ । पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक सो क्षेत्रबाट स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धले सो क्षेत्रमा तनाव उत्पन्न भएपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा बढी नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार ती नागरिकहरू तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्किएका हुन् । त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएका मन्त्रालयको मध्येएसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए । यसैगरी उक्त द्वन्द्वपछि मन्त्रालयको कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन पोर्टलमा हालसम्म सोक्षेत्रका ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा दर्ता गराउनुभएको उनले बताए ।

द्वन्द्वका क्रममा इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाईको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिए । उनी छिट्टै रिहाइ हुने मन्त्रालयले जनाएको छ ।

यसैगरी कामको सिलसिलामा इरानमा रहेका १० नेपाली नागरिकमध्ये दुई जना स्वदेश फर्कने तयारीमा रहेका बताउँदै बाँकी आठ जना हाल सुरक्षित महसुस गरी इरानमा रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । मन्त्रालयले सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि भारत सरकारबाट निमन्त्रणा प्राप्त भएको जनाउँदै भ्रमणको प्रारम्भिक तयारी भइरहेको उल्लेख गरे । यसैगरी उनले हाल राहदानी वितरणको कार्य सहज रूपमा भइरहेको उल्लेख गर्दै जनतालाई घरमै गएर राहदानी पुर्‍याउने व्यवस्थाका लागि हुलाक विभागसँग समन्वय भइरहेको बताए ।