रञ्जनकुमार दाहाल
नेपाली कांग्रेस पुनः सक्रिय र सशक्त बन्न सक्ने अवस्था आजको अदालती निर्णयबाट आएको छ र संकेत पनि देखिएको छ । नेपाललाई अहिले एक जिम्मेवार, परिपक्व र दूरदर्शी प्रतिपक्षको खाँचो छ, र गगन थापाले यसमा निर्णायक भूमिका खेल्नुपर्ने समय आएको छ। अब गगनले केवल पार्टीभित्रको नेतृत्व होइन, राष्ट्रिय स्तरमा विश्वास दिलाउने नेतृत्व देखाउनुपर्छ। रचनात्मक प्रतिपक्ष भनेको केवल आलोचना गर्ने होइन, सरकारलाई सही बाटो देखाउने, जिम्मेवार बनाउने र नीति–स्तरमा हस्तक्षेप गर्ने शक्ति पनि हो। तर यो अवसरलाई सही तरिकाले उपयोग गर्न आवश्यक छ। गगनले ‘पुराना सबैलाई मिलाएर लैजान्छु’ भन्नुभन्दा ‘पुरानाहरूको आशीर्वाद लिन्छु, अब उहाँहरू विश्राम लिनुहोस्’ भन्ने सन्देश दिनु बढी उपयुक्त हुनेछ। यसले सम्मान पनि जोगाउँछ र पुस्तान्तरणको स्पष्ट संकेत पनि दिन्छ।
आजका दिनमा कम्युनिस्ट दलहरूले आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न नसकेको र बिलकुलै परिवर्तन नगर्ने अवस्थामा, नेपाली कांग्रेसमाथि आशा बढेको छ। त्यसैले अब प्रतिपक्षको भूमिका कमजोर आलोचकको होइन, नीति–निर्माणमा प्रभाव पार्ने, देशलाई दिशा दिने र जनविश्वास जित्ने हुनुपर्छ । अब गगन थापाले आन्तरिक शक्ति सन्तुलनभन्दा माथि उठेर राष्ट्रिय नेतृत्वको भूमिका निर्वाह गर्नुपर्छ। नेपालले अहिले यही चाहेको छ, र यही आवश्यकता पनि हो।

प्रतिक्रिया