व्यक्ति बदलेर सम्भव छैन एमाले र नेकपाको संसदीय राजनीतिमा पुनःस्थापना


ऋषि कट्टेल ।
अचेल तीन दलीय सिण्डिकेट भित्र यो भनाई निकै चर्चामा छ । कांग्रेसमा गगनले निकै धक्कु लगाए । शेरबहादुरलाई पाखा लगाउनुलाईनै कांग्रेस सच्चिने भन्दै पार्टी विभाजन गरे । सच्चियो कांग्रेस भन्दै आफूलाई प्रधानमन्त्री घोषित गरे । उठ्नै नसक्ने गरि थचारिए ।

एमालेभित्र पनि यही स्वर निकै उरालिएको छ । यसको नेतृत्व सुरेन्द्र पाण्डे योगेशहरु गरिरहेका छन् । यिनीहरुले गगनहरुको पार्टी फोड्ने कामको निकै प्रसंसा पनि गरे । आफूले विशेष भेला गरेर ओलीलाई हटाउन नसकेकोमा पश्चाताप पनि गरे । अहिले पनि भेला गरेर यो काम गर्न लागिरहेका छन् भन्ने सुनेको छु । दाहालको पार्टी भित्र पनि यस्तै कुरा चलेको छ ।

यिनीहरु के तर्क गरिरहेका छन् भने व्यवस्था ठिक छ, नीति पनि ठिक छ । तर नेता भएन । ओली हटाएपछि सब ठिकठाक हुन्छ । जसरी गगनहरु शेरबहादुर हटाएपछि सव ठिकठाक हुन्छ भन्थे । यिनीहरु के कुरा बुझ्दैनन् भने नीतिले नेता बनाउँछ । नेता प्रधान हैन । नीति प्रधान हो । नेता भनेको केवल नीति कार्यान्वयन गर्ने पात्र हो । उसको विरोध नीतिमा खोजिनु पर्दछ ।
अव अलिकति एमाले भित्रको नीतिगत कुरा गरौँ । जबज नामको विसर्जनवाद यिनीहरुको साझा नीति हो । राष्ट्रघाती सन्धी सम्झौतामा यिनीहरु एकमत छन् ।

व्यवहार र चरित्र पनि उस्तै हो । अझ विद्या भण्डारी, ईश्वर पोख्रेल, विष्णु पौडेलहरु ओलीभन्दा कम छैनन् । जाँचपड्ताल गरे यो कुरा पुष्टि हुन्छ । ओली भन्दा यिनीहरु नीतिगतरुपमा के कुरामा भिन्न छन् र ओलीको ठाँउमा यिनीहरु आए पार्टी सच्चिन्छ । यो केवल पार्टी कब्जा गरेर लुटधन्दाको मालिक बन्ने दाउ शिवाय केही हैन ।

जहाँसम्म (एमाले–नेकपा) कम्युनिष्ट पार्टीको रुपमा सच्चिने प्रश्न छ पहिलो विसर्जनवादी नीतिगत अवधारणाबाट सच्चिने, दोस्रो देशघाती बाटोवाट सच्चिएर देशभक्तिको बाटोमा आउने, तेस्रो भ्रष्ट, कमिसनखोरीबाट मुक्त भएर स्वस्छ चरित्र निर्माण गर्ने र चौथो व्यापक वाम एकताको निम्ति काम गर्ने ।

अन्यथा यथास्थितिको अवस्थामा व्यक्ति अदला बदलावको नाममा एमाले र नेकपाको संसदीय राजनीतिमा पुनःस्थापनाको संभावना छैन । यो सामाजिक क्रान्तिको विज्ञानसम्मत नियमनै हो । यथास्थितिमा उनीहरुको पुनःस्थापना संभावनाको एउटैमात्र बाटो छ जसरी बालेनहरुले ओलीहरुलाई वालुवाटारबाट घोक्रेठ्याक लगाए त्यसैगरी ओलीहरुले बालेनहरुलाई घोक्रेठ्याक लगाउने हिम्मत गर्नुपर्दछ । अन्यथा तिमीहरुको लुटको स्वर्गको ढोका सदाको लागि बन्द हुनेछ ।