बादललाई योगेशको काउण्टरः नेपाली सेनाप्रति कुनै वैरभाव छैन


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली सेना लगायतका सुरक्षा अंगहरूप्रति पार्टीको कुनै वैरभाव नरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले रास्वपाले जित्नुमा सेना, कर्मचारी र बारबरा फाउण्डेशनको हात रहेको बताएपछि भट्टराईको यस्तो भनाई आएको हो ।

भट्टराईले भनेका छन्, ‘जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा बैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो । जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो । यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो । नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालयलगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहने छ । संसद वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ ।’