काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन् । लेखकसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक शनिबार पक्राउ परेका थिए । आजै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन् । रिटमाथिको सुनुवाइ सोमबार हुने सर्वोच्चले जनाएको छ ।
जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो । लेखकलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रुपमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया