काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतमा बिहीबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा आइतबार फेरि सुनुवाइ हुनेछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
यसअघि चार दिन निरन्तर सुनुवाइ भएपछि चैत ५ गते न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रवि बाहेकको हकमा माघ २ गते गरेको अन्य प्रतिवादीको पनि कसुर संशोधन गर्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो ।
महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते रविको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । त्यसविरुद्ध अभियन्ता युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका थिए ।

प्रतिक्रिया