रामेछाप । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा सोमबार अपरान्ह निर्वाचन सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ भने गाडीमा सवार ७ जना घाइते भएका छन् । गाडीमा ११ जना सवार रहेको बताइएको छ । उनीहरुमध्ये ३ जना गाडीबाट हाम फालेर जोगिएका थिए ।
मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिव २ सय मिटर तल खसेको हो ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद उद्धार वेश खुर्कोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर र विपद् व्यवस्थाप तालिम प्राप्त टोली उद्धार कार्यमा खटिएको थियो ।
उद्धार पश्चात घाइतेलाई उपचारको लागि मन्थली अस्पतालतर्फ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया