काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरुमा देखिएको अन्यौलग्रस्त अवस्थाका कारण त्यहाँ कार्यरत नेपाली प्रभावित हुन सक्ने भन्दै उनीहरुको सुरक्षा र उद्धारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।
आइतबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गरी युद्धका कारण नेपालीहरुमा पर्न जाने असुविधाप्रति चासो लिएका हुन् । आयोगले यस्तो विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरुमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्याङ्क सङ्कलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिनुपर्ने उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राज्य नागरिकको अविभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्दछ । यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरुमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्याङ्क सङ्कलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने र जोखिममा रहेका नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनुपर्दछ । यसका लागि सरकारले आफ्ना कुटनीतिक नियोगहरुको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनहरुसँग समेत समन्वय र सहकार्य गर्नु आवश्यक छ ।’
त्यस्तै आयोगले नेपाली नागरिकको सुरक्षा र उद्धारका कार्यमा आवश्यक समन्वय र सहयोग गर्न आयोग ती देशहरुमा रहेका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनहरुलाई समेत अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरुको सुरक्षा र संरक्षणको लागि तथ्याङ्क सङ्कलन गरी जोखिमको आँकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरुको उद्धार गरी स्वदेश फर्काउन आयोग नेपाल सरकार तथा विदेशस्थित कुटनीतिक नियोगहरुलाई आग्रह गर्दछ । साथै, नेपाली नागरिकको सुरक्षा र उद्धारका कार्यमा आवश्यक समन्वय र सहयोग गर्न आयोग ती देशहरुमा रहेका गैरआवासीय नेपाली सङ्घ’सङ्गठनहरुलाई समेत अनुरोध गर्दछ ।’

प्रतिक्रिया